Pages

Sunday 10 January 2016

सडक सुरक्षा सप्ताह आरम्भ

कालेबुङ, 10 जनवरी।कालेबुङ ट्राफिक पुलिसको आयोजनामा आजदेखि सडक सुरक्षा सप्ताह आरम्भ भएको छ। चालक साथै स्थानीय मानिसहरूलाई ट्राफिक नियमबारे अवगत गराउन विगत वर्षहरू झैँ यसवर्ष पनि कालेबुङ ट्राफिक पुलिसले सडक सुरक्षा सप्ताह शुरू गरेको छ। सडक सुरक्षाबारे जागरूक गराउन शुरू गरिएको सप्ताहव्यापी कार्यक्रम आगामी 16 दिसम्बरसम्म चल्नेछ। आज पहिलो दिनको कार्यक्रममा 27 माउन्टेन डिभिजनका कर्णल एसआर वर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा नगरपालिकाका उपाध्यक्ष जायन लेप्चा, कालेबुङ थाना प्रभारी टीएस नाथ, ज्योति कार्की, गोर्खा दुःख निवारक सम्मेलनका अध्यक्ष उदय कुमाई, जनमुक्ति चालक महासङ्घका अध्यक्ष महेन्द्र गुरूङ, हू-कियर्सका संयोजक एरोन योञ्जन आदि उपस्थित थिए। यसअवधि 27 माउन्टेन डिभिजनका सेना ब्याण्डको नेतृत्वमा शहरमा ट्राफिक सचेतना सम्बन्धी ऱ्याली निकालिएको थियो। ऱ्यालीमा कालेबुङ ट्राफिक अधिकारी प्रवीण गुरूङ लगायत पुलिस बल, अतिथिहरू, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू आदि उपस्थित थिए। ऱ्यालीले शहर परिक्रमा गरेपछि यहाँको थानाडाँडामा पुगेर एक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रमलाई अतिथिहरूले सम्बोधन गर्दै ट्राफिक नियमबारे जानकारी गराएका थिए। 


सम्बोधनको क्रममा मुख्य अतिथि कर्णल एसआर शर्माले प्रत्येक चालक अनि नागरिकहरूले ट्राफिक नियमको जानकारी राख्न जरुरी रहेको बताए। उनले सबैलाई ट्राफिक निमय पालन गर्नुपर्ने आह्वान गर्दै ट्राफिक नियम सम्बन्धी सचेत हुन आवश्यक रहेको बताए। उनले भने, सबैले ट्राफिक नियम जान्नुपर्छ अनि पालन गर्नुपर्छ। ट्राफिक नियम पालन गर्नु भनेको आफ्नै सुरक्षा गर्नु हो।  यदि सबैले ट्राफिक निमय पालन गरे धेरै हद्सम्म अप्रिय घटनाबाट बाँच्न सकिने कर्णल बर्माले बताए। उनले अझ भने, कालेबुङ जिल्ला बनिनेवाला छ। यसको घोषणा भइसकेको छ। यस्तो अवस्थामा कालेबुङलाई लिएर हाम्रो जिम्मेवारी अझ बढ्छ। ट्राफिक अनि सडक सुक्षालाई लिएर पनि जिम्मेवारीपूर्वक कार्य गर्न जरूरी छ।


 यसरी न अर्कोतिर विशिष्ट अतिथि नगरपालिका उपाध्यक्ष जायन लेप्चाले ट्राफिक नियम पालन नगरेको कारण नै शहरमा ट्राफिक समस्या जटिल बनिरहेको बताए। उनले भने, कालेबुङमा भनेजस्तो ट्राफिक नियम पालन भएको छैन। ट्राफिक नियम पालन नगरेको कारण नै शहरमा ट्राफिक जामको समस्या भएको हो। यदि सबैले ट्राफिक नियम पालन गरे धेरै हदसम्म ट्राफिक समस्या सामाधान हुनेछ। उनले ट्राफिक नियम उलङ्घन भएका अनेकौँ उदाहरणहरू दिँदै ट्राफिक सम्बन्धी सचेतना आउन जरूरी रहेको बताए। अर्कोतिर, कालेबुङ ट्राफिक अधिकारी प्रवीण गुरूङले ट्राफिक नियमहरूबारे जानकारी दिँदै शहरको ट्राफिक समस्या अनि सडक सुरक्षा सम्बन्धी विभागीय पहलहरूबारे अवगत गराए। सडक सुरक्षा सप्ताह कार्यक्रम अन्तर्गत कालेबुङ ट्राफिक पुलिसले माइकिङद्वारा पनि ट्राफिक नियमहरूबारे जानकारी दिने काम गरिरहेको छ। 


No comments: