July 2nd, 2012 rongotimes
जीटीए चुनाउलाई लिएर स्थानीय प्रशासनको तयारी अन्तिम चरणमा पुगेको जानकारी महकुमा कार्यालय पक्षबाट प्राप्त भएको छ। यसबाजीको जीटीए चुनाउको सम्पूर्ण जिम्मेवारी स्थानीय पार्वत्य मामिला विभागलाई सुम्पिएकाले विभागीय दायित्व पनि अझ बढेर गएको छ। हिजो मात्रै दार्जीलिङ जिल्लापाल सौमित्र मौहनसित बसेको प्रशासनिक बैठकपछि आज महकुमा कार्यालयमा महकुमा अधिकारी एलएन शेर्पाले जीटीए चुनाउलाई लिएर भइरहेको तयारीबारे पत्रकारहरूलाई जानकारी गराए। जीटीए चुनाउको आचार संहिता पनि अघिल्ला चुनाउको जस्तै रहनेछ। आगामी 2 जुलाईदेखि 9 जुलाईसम्म नामाङ्कन भर्न सकिन्छ भने 10 देखि 12 जुलाईभित्रमा नामाङ्कन फिर्ता लिने अन्तिम मिति तोकिएको छ। यसको निम्ति बिहान 11 बजीदेखि 3 बजीसम्म महकुमा कार्यालयको चुनाउ विभाग खुल्ला रहनेछ। 2 जुलाईदेखि नै चुनाउ आचार संहिता लागु हुने हुनाले कुनै पनि राजनैतिक क्रियाकलाप गर्न पूर्व सबै राजनैतिक दलहरूले सरकारी लिखित आदेश प्राप्त गर्नुपर्ने अनिवार्यता रहने अधिकारी शेर्पाले बताए।
यस चुनाउमा कालेबुङ महकुमाको 13 वटा समष्टिमा 1,65890 मतदाताहरूले आफ्नो मतको प्रयोग गर्नेछन् भने जसमा पुरूष मतदाताहरूको संख्या 845032 रहेको छ भने महीला मतदाताहरूको संख्या 813058 रहेको जानकारी पनि उनले गराए। यसबाजीको चुनाउमा कालेबुङ महकुमा अन्तर्गतका 6 वटा मतदान केन्द्रहरू खरसाङ महकुमा अन्तर्गत पर्न गएको छ। कालेबुङ महकुमाको 228 वटा मतदान केन्द्रहरूमा मतदाताहरूले आफ्नो मत खसाल्नेछन् । यी 228 वटा मतदान केन्द्रहरूमा 204 वटा मुख्य मतदान केन्द्र केन्द्र र 24 वटा अतिरिक्त मतदान केन्द्रको रूपमा स्थापित गरिनेछ। मतदान नियन्त्रण केन्द्रको सम्पर्क नम्बर 256353,मीडिया सम्पर्क नम्बर 255409, यसै गरि खण्ड-1को निम्ति 255267 र खण्ड-2 को निम्ति 240222 रहेको जानकारी पनि अधिकारी शेर्पाले गराए। गोरूबथान खण्ड -3 को निम्ति भने चुनाउ अधिकारीको नम्बर 9933768904 र खण्ड विकास अधिकारीको नम्बर 9474032700 रहनेछ। कुनै पनि आपतकालीन अवस्था या चुनाउ अवधि कुनै अनियमितता देखिए सोझै यी नम्बरहरूमा सम्पर्क गर्न सकिने पनि उनले जानकारी गराए। यसबाजीको मतगणना भने कालेबुङ महाविद्यालयको सट्टामा एसयूएमआइ प्राथमिक पाठशाला भवनमा गरिने जानकारी पनि शेर्पाले दिए। उनी अनुसार आगामी 2 अगस्टमा यस चुनाउको मतगणना हुनेछ। जीटीए चुनाउलाई मध्यनजर गरेर आजै सर्वदलीय बैठक पनि डाकिएको थियो।
No comments:
Post a Comment