Pages

Tuesday, 3 July 2012

जीटीए सभाको चुनाउ लड्न सक्ने बिमल गुरुङले दिए सङकेत



जीटीएको चुनाउमा बिपक्षी दलहरुले भाग लिनु भनेको तिनीहरुले जीटीए स्वीकार गर्नु हो – बिमल गुरुङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 3 जुलाई: जीटीए चुनावको आचार सहिता लागु भएपछि प्रथमपल्ट कालेबुङ आईपुगेका गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङले यहाँको डेलो परिसरमा आयोजित पार्टीको सार्बजनिक जनसभालाई सम्बोधन गरे। तिनले यस अवसरमा पार्टी कार्यकर्ताहरुलाई चुनाउको निम्ति सक्रिय बन्नु पर्ने निर्देश दिदै गोजमुमो पार्टीले जीटीए सभाको 45 वटा आसनहरुबाट नै सय प्रतिश बिजय हासिल गर्ने दाबी गरे। 
“म गरिबको छोरा हूँ त्यसैले गरिबको नेता हूँ” भन्दै बिमल गुरुङले बर्तमान समयमा आफ्नो सम्बन्ध सबै गरिबहरुसंग रहेको बताउँदै यदि पछि जीटीएको चुनाउ लडेर अध्यक्ष बनिए त्यस समय पनि ती गरिब मानिसहरुले मलाई भेट्न सक्छ के भन्दै कतै जीटीएको दैलोले अहिले सहजै भेटने गरिब मानिसहरुलाई रोक्दैन भनि सबै मोर्चा कार्यकर्ताहरुलाई प्रश्न गरे। यद्यपी तिनले सबैको अनुरोधमा जीटीए सभाको चुनाव लडन सक्ने सङकेत दिएका छन। 
अहिलेघरी चारैतिरबाट आफुलाई नै जनताले जीटीए सभाको प्रमुख भएर बसिदिने अनुरोध गरिरहेको सन्दर्भमा बोल्दै तिनले अचानोको पिर खुकुरीले जान्दैन भनि बताए। जनताले आफुलाई जीटीए सभाको अध्यक्ष भएर बसिदिने अनि आफुले दिएको निर्देशहरु पालन गर्छु भनेर अहिलेघरी लिखित रुपमा दिईरहे पनि पछिबाट साच्चै आफुले दिएको निर्देशलाई पालन गर्ने नै हुन के भनि सबैलाई प्रश्न तेर्साए। तिनले जीटीए सभाको चुनाउमा भाग नलिए पनि पार्टीले चुनेर पठाएका नेताहरुलाई आफ्नो बहसमा राख्ने बताउँदै चुनाउमा भाग लिन सक्ने सङकेत दिएका छन।
तिनले बिगत दिनहरुमा सुवास घिसिङले दागोपापमा शाषण गर्दा जुन प्रकारको भ्रष्टचार् हुने गरेको थियो त्यस्तो भ्रष्टचारलाई मोर्चाले प्रश्रय नदिने घोषणा गरेका छन। यसै क्रममा नगरपालीकाले आज सम्म कतिपय कामहरु राम्रो तरिकाले नगरिरहेको बताउँदै नगर अध्यक्ष अनि नगर पार्षदहरुले जनताको निम्ति सही तरिकाले काम गर्नु भनि निर्देश दिए। यसै क्रममा तिनले बिगत दिनमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्दा सिब्सुमा आफ्ना समर्थकहरुलाई गुमाउँनु परेको बताउँदै खुबै भावुक बनेर मोर्चाको निम्ति जीटीए चुनाउ चुनौतिको रुपमा लिएको बताए। 
जीटीए चुनाउ सम्बन्धि अहिलेघरी पार्टीले उम्मेद्वार छान्ने प्रक्रिया गरिरहेको सन्दर्भमा बोल्दै तिनले जीटीए सभाको निम्ति पार्टीले कसलाई टिकट दिनेछ भन्ने बिषयमा पार्टीकार्यकर्ताहरु टिकटको निम्ति आफुकहाँ धाउँन नआउँनु भनि स्पष्ट रुपले बताए। जीटीए सभाको निम्ति सम्पूर्ण सिटहरुको निम्ति उम्मेद्वार आफुले चुन्ने स्पष्ट रुपमा बताउँदै आफुले दिएका उम्मेद्वारहरुलाई लिएर सबै जनता सन्तुष्ट बन्नु पर्ने सुझाउ दिएका छन। यदि पार्टीले टिकट नदिँदा असन्तुष्ट बनेकाहरु निर्दलिय चुनाउ लडन चाहंछ भने आफ्नो भन्नु केहि नरहेको बताउँदै यस्तो कार्य गरेर आफ्नो खुट्टामा आफैले बञ्चरो हान्ने काम गर्न नहुने तिनले थप बताए। पार्टी समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा तिनले हाईपावर कमिटिका अध्यक्ष अवकाश प्राप्त न्यायधिस श्यामल सेनले पार्टीको चाहना बिरुद्ध निर्णय दिएर मोर्चालाई अवहेलना गरेको आरोप लगाए। श्यामल सेनले राज्यलाई बुझाएको रिपोर्ट प्रति आफुहरु पूर्णरुपले असन्तुष्ट रहेको बताउँदै यस बिषयमा मोर्चाको 21 जना प्रतिनिधी टोलिले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई दबाउँ दिदा “फ्याक्ट भेरिफिकेशन कमिटि” गठन गरेकोतिनले बताए। 
उक्त कमिटिले तराई डुवर्सको थुप्रै मौजाहरु जीटीएमा गाभिनसक्ने कुरामा मोर्चा आशावादी रहेको समेत तिनले बताएका छन। तराई डुवर्सका भु-भागहरुबाट लगभग 70 – 80 वटा मौजाहरु त्यसै गाभिनसक्ने हुँदा हुँदै पनि सरकारले षडयन्त्र रचेर केवल पाँचवटा मौजाहरुमात्र दिने कार्य गरेको बिमल गुरुङले थप आरोप लगाए। यस सम्बन्धि आफुले केन्द्रको गृह मन्त्री, बित्त मन्त्री संग कुराकानी गर्दा गोर्खाहरुलाई कुनै व्यवस्था राम्रोसंग चलाओस भनेर दिदा कहिल्यै राम्रोसित नचलाएको गृहमन्त्री पी चिदम्बरमले आफुहरुलाई बताएको बताउँदै जीटीएको चुनाउ लडेर यसलाई सञ्चालन गरेर हेर्नु अनि पछि आफुहरुको मागबारे कुराकानी गर्नु भनि बताएको तिनले थप जानकारी गराए। आफुहरुले पहाडको निम्ति जीटीए दिएर पनि सञ्चालन नगरेको सन्दर्भमा गृहमन्त्रीले “के सरकारले पहाडको मात्र समस्या हेर्नु ? पहाडको निम्ति कति कुराकानी गर्नु ? दिएको चिज किन चलाउँनुहुन्न ?” भनेर प्रश्न गरेको बताउँदै यसैको अनुरुप आफुहरुले जीटीएको चुनाउलाई चुनौतिको रुपमा लिएर चुनाउ लडने निर्णय लिएको बिमल गुरुङले जानकारी गराए। 
गोजमुमोले जीटीए चुनाउँलाई चुनौतिको रुपमा लिएको कारण चुनाउमा 45 वटै सिटहरुबाट बिजयी बनेर यसलाई व्यवस्थित तरिकाले सञ्चालन गरेर गोर्खाहरुले कुनै पनि व्यवस्था साथै कुनै पनि शाषण प्रणाली राम्रोसंग सञ्चालन गर्न सक्छ भन्ने सरकारलाई जवाब समेत दिन चाहेको थप गुरुङले बताए। यसै क्रममा तिनले दार्जीलिङबाट ह्त्याका आरोपि दिपेन मालेलाई जीटीए चुनाउको निम्ति टिकट दिदा समाचार पत्रहरुले गलत तरिकाले प्रचार गरिरहेको आरोप लगाउँदै दिपेन माले निर्दोस हुँदा हुँदै सरकारले षडयन्त्र रचेर हत्याको आरोपमा जेलमा बन्द गरेको दाबी गरे। दिपेन माले निर्दोस रहेकै कारण पार्टीले चुनाउको टिकट दिएको स्पष्टिकरण दिदै तिनले जेल भित्रबाटै निर्विरोध बिजय समेत हासिल गर्ने बिमल गुरुङले ठोकुवा गरेका छन। यस अवसरमा तिनी बिपक्षी पार्टीहरुप्रति बर्सिन्दै डम्बर चौक र चौकबजारबाट भाषण गर्दैमा समस्याको समाधान नहुने दाबी गरे। 
बिपक्षी पार्टीहरुले जीटीए सभाको चुनाउ लड्ने सम्बन्धमा बोल्दै गणतन्त्रमा चुनाउ लड्ने सबै पार्टीको अधिकार रहेको बताउँदै अन्य पार्टीहरुले कुनै पनि सिटबाट बिजय हासिल गर्न नसक्ने तिनले दाबी गरे। यसै क्रममा तिनले कतिपय राजनैतिक पार्टीहरुको नाम लिदै जीटीएको सम्झौता गर्दा जीटीएको बिरोध गर्नेहरुले आज आएर यदि चुनाउ लड्छ भने तिनीहरुले पनि जीटीएलाई स्वीकार गरेको हो भनि किटान गरे। यतिमात्र होईन बिपक्षी पार्टीहरुले चुनाउ नलडेर कुनै निर्दलिय उम्मेद्वारहरुलाई सघाउँने निर्णय गर्छ भने पनि तिनीहरुले जीटीएलाई नै स्वीकार गरेको प्रमाणित हुने दाबी गरेका छन। बिगत दिनमा गोरामुमो प्रमुख सुवास घिसिङले आन्दोलन गरेर 12 सय शहिद बनाएर ल्याएको दागोपापमा “गोर्खाल्याण्ड” भन्ने शब्द नरहेको बताउँदै अहिले मोर्चाले ल्याएको जीटीएको पहिलो शब्द नै गोर्खाल्याण्डबाट सुरु भएको तिनले जनाए। अहिले केहि समयको निम्ति गोर्खाल्याण्ड टेरोटेरियल एडमिनिस्ट्रेसन नाम भए पनि पछि आन्दोलन गर्दा पछिको टेरिटोरियल एडमिनिस्ट्रेसन हटेर केवल गोर्खाल्याण्ड मात्र हुने पनि मोर्चा प्रमुख बिमल गुरुङले जनसभामा दाबी गरे।

No comments: