Pages

Thursday 31 May 2012


आधा पेटै सुत्छन्‌ जनता–कुहेको सरकारी चामलको भात खानु कि भाती?ः माकपा

300
 rongotimes.comकालेबुङ,30 मई (निसं)ः 31 मार्चपछि चार महीनासम्म पहाड़का जनतालाई दोब्बर राशिन दिने मुख्यमन्त्री ममता व्यानर्जीको घोषणा पनि पूरा भएन। अहिले जति राशिन पाउँदैछन्‌ त्यो पनि गुणस्तरीय छैन। चामल दिन्छ खानै नहुने, कनिका हो कि चामल नै हो छुट्याउनै गाह्रो पर्छ। टुक्रे चामल अब जनताले भात खानु कि भाती जॉंड़ बनाएर खानु?
यस्तो मन्तव्य व्यक्त गरेका हुन्‌ स्थानीय माकपा नेता तारा सुन्दासले। उनी आज त्यही कुहेर टुक्रा परेको सरकारी राशिन दोकानले बॉंड़ेको चामल बोकेर खाद्य विभाग पुगेका थिए। खाद्य विभाग अधिकारी ध्रुव बराइलीसित भेट गरेपछि सुन्दासले पत्रकारहरूसित कुरा गरे। उनले भने-10 मई 2011 मा देशको सर्वोच्च न्यायालयका न्यायाधीस दलबीर भण्डारी र दिपक वर्माको खण्डपीठले देशको 150 भन्दा धेरै अविकसित जिल्लाहरूमा खाद्य उपलब्ध गराउने निर्देश सरकारलाई दिएको थियो। जस अन्तर्गत 40 लाख 50 हजार टन गहुुँँ आवन्टित गरियो। तर त्यो गहुँ अझसम्म पहाड़वासीले प्राप्त गर्न सकेका छैनन्‌। अहिले पनि गरीब बीपीएल परिवारहरूले 250 ग्राम गरेर नै गहुँ पाइरहेका छन्‌। उनले अझ भने- दिल्लीबाट पहाड़ र जंगलमहललाई भनेर सरकारले विशेष खाद्य योजना बनाउने गर्छ। तर त्यो सहुलियत जंगल महलले पाए पनि पहाड़ले भने पाउन सकिरहेको छैन। यसबाट पनि ममता सरकारको पहाड़प्रतिको नियत स्पष्ट हुन्छ। नन्दीग्राम , जंगलमहल, मेदिनापुर, पुरूलियावासीको दुःख जस्तै पहाड़का गरीब सीधा सोझा जनताको पनि दुःख एउटै छ।
तर सरकारले भने पहाड़वासीलाई जंगल महल र नन्दीग्राम भन्दा फरक नीति लिएर हेर्ने गरेको उनले आरोप लगाए। विगत दुइ हप्तादेखि राशिनमा चिनी छैन। बिहान उठेर केही गुलियो खान पाउने भनेको गरीब जनताले त्यही चिनीको चिया हो। त्यो पनि सरकारले दुइ हप्तादेखि खल्लो बनाइदिएको छ। यसै विषयमा कुरा बुझ्न उनी कालेबुङ खाद्य विभाग अधिकारीलाई भेट्‌न आएको सुन्दासले बताए। यता खाद्य विभाग अधिकारी ध्रुव बराइलीले बताए अनुसार एफसीआइबाटै यस्ता टुक्रिएको चामल आउने गरेकाले समस्या उत्पन्न भएको हो। यस्ता टुक्रिएको चामल सयमा 5-10 बोरा हुने गरेको पनि उनले बताए। जति पनि एमआर सपमा यस्ता टुक्रिएको चामल पुगेको छ यसलाई चॉंड़ै फिर्ता ल्याउने प्रतिबद्धता पनि उनले जाहेर गरे साथै जनतालाई यस्तो चामल नलिने पनि अपील गरेका छन्‌। अर्को हप्तादेखि चिनी सबै राशिन दोकानहरूमा उपलब्ध हुने दावी गर्दै बराइलीले चिनीको समस्या भण्डारमा चिनी नभएर नै उत्पन्न भएको बताए। उनले भने- यो कुनै कृतिम समस्या होइन। जिल्ला खाद्य नियन्त्रण विभागसित नै चिनीको भण्डार थिएन। यस्तो अवस्थामा विभागले केही गर्न नसक्ने पनि उनले बताए। अर्कोतिर माकपा नेता सुन्दासले कुनै व्यक्ति विशेषलाई दोष्याउनको निम्ति यस्तो आरोप नलगाएको तर सम्पूर्ण सरकारी तन्त्रको अकर्मन्यताप्रति विभागको ध्यान आकर्षित गराउन यो कदम उठाएको बताए। भुक्तभोगी जनताको हितलाई ध्यानमा राखेर नै मार्क्सवादी कम्युनिष्ट पार्टीको तर्फबाट आफूले आवाज उठाएको पनि उनले जनाए।

No comments: