Pages

Friday 25 May 2012

पहाड़का विपक्षीहरूको तृणमूल गमनको हल्ला सत्ता मोह कि सुरक्षा चासो?

 अनिकालमा बीउ र हुलमूलमा जीउ जोगाउनु भन्ने उखान जस्तै वर्तमान पहाड़को राजनीतिमा दल परिवर्तनको तातो हावा निकै तेज बहन थालेको छ। यो दल परिवर्तनको लहर जीउ जोगाउने हो या बीउ जोगाउलाई मात्रै हो यसको लेखा जोखा पछिबाटै होला तर गोरामुमो नेता राजेन मुखिया, यूजीआरएफ नेता अजय दाहाल, पूर्व मोर्चा नेता विशाल छेत्री , जीएलओ प्रमुखका छोरा सन्तोष सुब्बा मात्र होइन गोरामुमो, गोजमुमो, गोर्खालिग, सीपीआई अनि क्रामाकपाबाट पनि तृणमूल कंग्रेसमा जानसक्ने संकेत पाइएको छ। गोर्खालिगको युवा सङ्गठन तरुण गोर्खा केन्द्रिय समिति अध्यक्ष छेवाङ भोटियाले गोर्खालिगमा राजिनामा लेखेर तृणमूल कंग्रेसमा जाने निश्चित भइसकेको छ। उनले आफू संगै अन्य थुप्रै युवाहरू तृणमूल कंग्रेसमा सामेल हुने जनाएका छन्‌। जसमा वर्तमान पहाड़का शक्तिशाली दल गोजमुमोबाट पनि केही युवाहरू रहेको उनले खुलासा गरेका छन्‌। यता पानीघट्टाका राजेन मुखिया अनुसार तृणमूलमा जाने सम्बन्धमा अन्य पार्टीका प्रतिनिधिहरूसित पनि कुराकानी भइरहेको छ। 

तिनले लिएका पार्टीका नामहरूमा गोर्खालीग, क्रामाकपा, गोरामुमो, गोजमुमो अनि सीपीआई रहेको छ। राजेन मुखिया अनुसार तिनको कुराकानी अजय दाहालसित पनि भइरहेको छ। मुखियाले सुरक्षाको सवाल अहिले उनीहरूको निम्ति गम्भीर रहेको बताएका छन्‌। तिनी अनुसार पहाडको बलियो दल गोर्खा जनमुक्ति मोर्चा गणतान्त्रिक नरहेकोले विपक्षमा रहने कोही पनि सुरक्षित छैनन्‌। यस्तो स्थितिमा छुट्टै राज्यको कुरा गर्नेहरूलाई नै उल्टो छुट्टै राज्यको विरोधी बनाउने मात्र होइन उनीहरूको सुरक्षामा पनि खतरा भइरहेको उनले बताए। गोरामुमोका निर्वासित नेताहरू पनि तृणमूल कंग्रेसमा जाने चलिरहेको हल्लाबारे प्रश्न गर्दा तिनले भने, सबैलाई राजनीति गर्ने हक छ तर राजनीति गर्दा निर्वासित हुनुपरिरहेका छन्‌। निर्वासित हुनु भनेको असुरक्षित हुनु हो। निर्वासितहरू सबै पहाड आउन पाउनुपर्छ। गोरामुमो मात्र होइन पहाडका धेरै राजनैतिक पार्टीका नेताहरू तृणमूलमा आउनेछन्‌। यसबारे कुराकानी भइसकेको छ। अहिले नै सबै कुरा खुलासा गर्न नमिल्ने उनी बताउछन्‌। यता राजेन मुखियाले यूजीआरएफ नेता अजय दाहालसित पनि तृणमूलमा लाग्ने सम्बन्धमा कुराकानी भइरहेको बताए पनि अजय दाहालले भने यस सम्बन्धमा आफूलाई केही थाहा नभएको बताएका छन्‌। तृणमूल कंग्रेसमा लाग्ने कुरा हल्ला मात्र हो। दाहाल भन्छन्‌- मलाई केही थाहा छैन। न त मसित तृणमूलको कुनै नेताले नै सम्पर्क गरेको छ न त फोन नै गरेको छ। तृणमूलमा जाने सम्बन्धमा मैले केही सोंचेको छुइँन। तिनले आन्तरिक रुपले आफ्नो सङ्गठनले छुट्टै राज्यको आन्दोलन निम्ति तयार पारिएको खाका सम्बन्धमा चर्चा चलिरहेको कुरा भने स्वीकार गरे।

 तिनी तृणमूल कंग्रेसमा लाग्ने नलाग्ने सम्बन्धमा कुरा गर्न अनिवार्य नरहेको मान्छन्‌। यद्यपि राजेन मुखिया भने दहालसित आफ्नो सम्पर्क भइरहेको बताउँछन्‌। यसबाट पनि दाहाल पनि विचार गर्ने स्थितिमा पुगेको हुनसक्ने बुझिएको छ। कालेबुङमा बसमा भएको स्टोभ बम काण्डदेखि अचानक चर्चामा आएका छत्र सुब्बाका छोरा सन्तोष सुब्बा पनि तृणमूल कंग्रेसमा आउने हल्ला चलिरहेको छ। तृणमूल कंग्रेसमा जानेहरूको नाममा छत्र सुब्बाको पनि नाम उठिरहेको छ। तर छत्र सुब्बा यस विषयलाई लिएर मौन छन्‌। तिनले अघि नै आन्दोलन र राजनीति नै छोडेको घोषणा गरिसकेका छन्‌। तृणमूलमा जानेे बारे तिनी मौन छन्‌। यस सम्बन्धमा प्रश्न गर्दा सन्तोष सुब्बाले भने, अहिले नै यसबारे कुरा गर्न ठीक हुँदैन। समय आएपछि सबै कुरा बताउने नैै हो। म बोल्न चहान्न। तिनको जवाबले पनि तिनी तृणमूलमा जाने सम्बन्धमा तृणमूलका नेताहरूसित सम्पर्कमा हुन सक्ने छनक भने पाइएको छ। किनभने तिनले तृणमूलमा जाने सम्बन्धमा लचिलो प्रतिक्रिया गरेका छन्‌। छापामा आएअनुसार गोरामुमोका निर्वासित नेताहरू पनि तृणमूलमा आइरहेका छन्‌। किनभने उनीहरू राजनैतिक सुरक्षा चहान्छन्‌। राजेन मुखियाले दिएको संकेत अनुसार पनि गोरामुमोका निर्वासित नेताहरू तृणमूलमा आउन सक्छन्‌। निर्वासित जीवन बिताइरहेका गोरामुमो नेता मौरिस कालिकोटेसित सम्पर्क गर्दा तिनले गोरामुमोका निर्वासित नेताहरू तृणमूलमा पस्ने कुरालाई ठाडै नकारेका छन्‌। कालिकोटेले भने, जो-जसलाई थांग्रा चाहिन्छ उनीहरू जान सक्छन्‌। तर गोराममोका निर्वासित नेताहरूलाई लिएर जुन अफवाह फैलाइएको छ, यो भने ठीक कुरा होइन। किनभने गोरामुमोलाई पहाड चढ्‌न कसैको थांग्रा चाहिन्न। यता गोरामुमो नेता प्रकाश दाहालले पनि तृणमूलमा जाने कुरा अफवाह मात्र रहेको जनाएका छन्‌। यसरी तृणमूलमा पस्ने हल्लालाई धेरैले हल्ला मात्रै हो भनेर उम्कन खोजे पनि हावा नआई पात हल्लँदैन भन्ने उखान जस्तै दल परिर्वतनको तातो हावा भने भित्र भित्रै चलिरहेको विज्ञहरू ठान्छन्‌।

No comments: