कालेबुङ;; रिजनल एसएससीः एड होला एडहक?पहाड़को निम्ति छुट्टै स्कूल सर्विस कमिशन अर्थात् एसएससी गठन गरिने घोषणाले शिक्षित बेकारीहरूमा नयॉं जोशको सञ्चार भए पनि यसको कार्यान्वयनमा देखिने अड़चनहरूको कारण यो नयॉं आयोग पनि पुरानो जस्तै ठण्डा बोरामा थन्किने त होइन? भन्ने थुप्रै शंका उपशंकाहरू उब्जिरहेको छ। केही दिन अघि मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले शिक्षक नियुक्तिको सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्न हेतु रिजनल स्कूल सर्विस कमिशन गठन हुने घोषणा गरेका थिए। उनले आफ्नो घोषणामा वर्तमानमा पहाड़का विभिन्न विद्यालयहरूमा कार्यरत 269 जना एडहक शिक्षकहरूले पनि परीक्षा बस्नुपर्ने तर उनीहरूको अनुभव र उमेरलाई विशेष ग्राह्यता दिँदै केही छुट प्रदान गर्न सकिने जनाएका थिए। छेत्रीको उक्त घोषणासंगै पहाड़का 269 जना एडहक शिक्षकहरूको स्थायीकरणको सम्बन्धमा प्रश्नहरू खड़ा भएको छ। यता जेएसटीओका केन्द्रिय प्रसार प्रचार सचिव भीषण रोकाले एडहक शिक्षकहरूको निम्ति रिजनल स्कूल सर्विस कमिशनमा विशेष फर्मूला तयार गरिने जनाएका छन्।
उनले एडहकहरूको समस्यालाई एकैचोटि समाधान गर्ने उद्देश्यले नै राज्यको शिक्षा विभागले यस्तो फर्मूला कार्यान्वयन गर्ने बताए। उनले जीटीए गठन अघि नै एडहकहरूको समस्या समाधान गरिने बताउँदै जीटीए गठनपछि पुरानो एसएससी लागु हुने बताएका छन्। मोर्चा प्रवक्ता डा.छेत्रीको वयान र जेएसटीओ प्रसार प्रचार सचिवको मन्तव्यबीच देखिएको विरोधाभासले के कुरालाई स्पष्ट पारेको छ भने अझैसम्म पनि 269 जना एडहक शिक्षकहरूको स्थायीकरणको निम्ति कुनै निर्दिष्ट रोड म्याप तयार भइसकेको छैन। डा. छेत्रीले भने अनुसार जुन उमेर समूह र अनुभवको आधारमा एडहक शिक्षकहरूलाई छुट दिने कुरा छ त्यो कति र कस्तो प्रकृतिको हुन्छ? त्यो स्पष्ट छैन। जेएसटीओको तर्फबाट जुन एकैपल्टमा समाधानको आधारमा एडहकहरूलाई स्थायीकरण गरिने कुरा अघि आइरहेको छ। यदि यस्तो हो भने यसको निम्ति सम्पूर्ण एसएससी नियमलाई नै संशोधन गर्नुपर्ने देखिन्छ। किनकि एउटै राज्यभित्र दुइ फरक मापदण्डको परीक्षा लागु गर्न सकिँदैन। रिजनल एसएससी भनेर अहिले जुन कुरो अघि आइरहेको छ। यस्तै कमिशन हिल स्कूल सर्विस कमिशन नामकरण गरेर पहिला पनि कमिशन बनिएकै हो। उक्त कमिशनको आधारमा परीक्षा पास गर्ने शिक्षकहरू अहिले पनि धेरैजसोले नियुक्ति पाएका छैनन्।
जतिले नियुक्ति पाएका छन् उनीहरूले न्यायालयको ढोका ढक्ढकाएपछि मात्र नियुक्ति पाएका हुन्। उनीहरूमा अझै धेरै न्यायालयमा मुद्दा दर्ता गरेका छन्। यसबाहेक पनि पहाड़मा अहिले 348 जना स्वयंसेवी शिक्षकहरू कार्यरत छन्। जसको नियुक्ति तत्कालीन दागोपापबाट नभएर स्कूल सञ्चालन समितिको तर्फबाट भएको हो। यी स्वयंसेवी शिक्षकहरू पनि एडहक शिक्षकहरू सरह आफूहरूको पनि स्थायीकरण होस् भन्ने चाहन्छन्। यसबाहेक पनि यस्ता 143 जना एडहक शिक्षकहरू छन् जो मान्यताप्राप्त नभएका विद्यालयहरूमा कार्यरत छन्। उनीहरू पनि अन्य अस्थायी शिक्षकहरू सरह आफूहरूको समस्याको समाधान होस् भन्ने चाहन्छन्। यसबाहेक रिजनल एसएससीको कार्यान्वयनमा थुप्रै तक्निकीय समस्याहरू अघि आउँछ।
No comments:
Post a Comment