Pages

Saturday 28 April 2012

भाजपाका पूर्व अध्यक्ष बङ्गारु लक्ष्मणलाई घूस लिएवापत चार वर्ष जेल सजाय

भाजपाका पूर्व अध्यक्ष बङ्गारु लक्ष्मणलाई घूस लिएवापत चार वर्ष जेल सजाय  


राजेन्द्र ज्ञवालीनयाँ दिल्ली, भारतमा मुख्य विपक्षी दल भारतीय जनता पार्टीका पूर्व अध्यक्षलाई भ्रष्टाचारको आरोपमा विशेष सिबिआइ अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। भारतीय जनता पार्टीका पूर्व अध्यक्ष बङ्गारु लक्ष्मणलाई एघार वर्षअघिको घूस काण्डमा १ लाख भारतीय रुपियाँ जरिवाना पनि गराएको छ। बहसका क्रममा बङ्गारु लक्ष्मणका कानुनी सल्लाहकारले उनको उमेर र रोगलाई ध्यानमा राख्दै सजाय कम गर्न अनुरोध गरे पनि त्यसलाई अदातलले खारेज गरेको थियो। उता सिबिआइले भने पाँच वर्ष कैदको सजाय मागेको थियो। यसअघि बङ्गारु लक्ष्मणलाई सिबिआइको विशेष अदालतले भ्रष्टाचार मामिलामा शुक्रबार दोषी घोषित गरेको थियो। उनीमाथि अमेरिकाको नक्कली कम्पनी वेष्ट इन्ड इन्टरनेशनललाई रक्षा मन्त्रालयसँग काम दिलाउने नाममा १ लाख भारतीय रुपियाँ घूस लिएको आरोप थियो। बङ्गारुलाई सन् २००१ मा एक स्टिङ अपरेसनमा रक्षा मन्त्रालयको काम दिलाउने नाममा १ लाख भारतीय रुपियाँ घूस लिँदै गरेको अवस्थामा क्यामरामा कैद गरिएको थियो। सिबिआइको चार्जसिटअनुसार १२ डिसम्बर २००० देखि ६ जनवरी २००१ बीच तहल्काडटकमका रिपोर्टरले बङ्गारु लक्ष्मणसँग आठ पटक हतियारको डिलरका रुपमा भेट गरेका थिए। उनले बङ्गारुलाई थर्मल इमेजरको सप्लाइ आफनो कम्पनी मेसर्स वेष्ट एन्ड एन्टरनेसनललाई दिलाउने भनेका थिए। यसका लागि बङ्गारुलाई पाँच लाख भारतीय रुपियाँ घूस दिने प्रस्ताव गरिएको थियो। त्यहीअनुसार पहिलो किस्ताका रुपमा ५ जनवरी २००१ मा उनलाई १ लाख भारतीय रुपिया दिँदै गरेको अवस्थामा क्यामरामा कैद गरिएको थियो। बाँकी रकम बङ्गारुले डलरमा मागेका थिए। १३ मार्च २००१ मा तहल्काले बङ्गारुको टेप सार्वजनिक गरेको थियो, जसमा उनी १ लाख भारतीय रुपियाँ लिँदै गरेको देखिएका थिए। यो खुलासा भएपछि उनले भारतीय जनता पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएका थिए। उनी केन्द्रीय मन्त्री पनि भइसकेका छन्।

No comments: