Pages

Monday, 30 April 2012

हिमालयन रेलवे अर्थात्‌ टोय ट्रेन—-दार्जीलिङको लिलीपुट

हिमालयन रेलवे अर्थात्‌ टोय ट्रेन—-दार्जीलिङको लिलीपुट 


 April 30th, 2012 rongotimes.com दार्जीलिङलाई विश्व मानचित्रमा उभ्याएर पहाड़को रानी बनाउनमा दार्जीलिङको प्राकृतिक सुन्दरतासंगै दार्जीलिङ चिया र टोय ट्रेनको उत्तिकै भूमिका छ। दार्जीलिङ सम्झन साथै पर्यटकहरूदेखि लिएर अन्य मानिसहरू मीठो चियाको बासना,मनोरम प्राकृतिक दृश्य र अंग्रेजी अक्षर यू आकारमा घुमेको बतासे लुपमा छुकछुक हिड़ेको टोय ट्रेनलाई सम्झन्छन्‌। आफ्नो जन्मको शताब्दी बितिसक्दा पनि यो ट्रेन विश्व धरोहरमा सामेल भएर दार्जीलिङलाई विश्वसामु चिनाइरहेको छ। सन्‌ 1879-81 मा शुरू भएको यो रेल सेवाले दार्जीलिङलाई समतलसित मात्र जोड़ेन, संगसंगै दार्जीलिङको सभ्यता,संस्कृति र परम्परालाई अझ फराकिलो पार्दै बाहिरी दुनियॉंसित हातेमालो गर्न सिकायो। सिलगड़ी न्यू जलपाइगढ़ी रेलवे स्टेशनदेखि दार्जीलिङसम्मको यात्रामा यो ट्रेनले 87 किलोमिटरको दुरी नाप्दै 12 वटा स्टेशनहरू पार गर्छ। जसमा सिलगड़ी न्यू जलपाइगढ़ीको न्यूनतम उँचाई 328 फिटदेखि घुम स्टेशनसम्म आइपुग्दा 7407 फिटसम्म छ। 5 दिसम्बर 1999 मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको यो ट्रेनले प्रतिदिन दार्जालिङदेखि खरसाङसम्म 3 सयदेखि 4 सय पर्यटकहरूलाई लिएर यात्रा गर्छ। पर्यटकहरूको निम्ति विशेष रूपमा जोय ट्रेनको पनि व्यवस्था गरिएको छ। उक्त जोय ट्रेन पर्यटकहरू लिएर प्रतिदिन दार्जीलिङदेखि घुमसम्म करिब 2 घण्टाको यात्रा गर्छ। यस क्रममा ट्रेनले विश्व प्रसिद्ध बतासे लुपबाट पर्यटकहरूलाई दार्जीलिङ देखाउँछ भने भारतमै सबैभन्दा उच्च स्थानमा अवस्थित 7407 फिट उँचाईमा अवस्थित घुम रेलवे स्टेशनको परिभ्रमण गराउँछ। यो यात्रामा घुम स्टेशनमा करिब आधा घण्टाको विश्राम दिएर पर्यटकहरूलाई दार्जीलिङ रेलवे म्यूजियमको परिदर्शन पनि गराउँछ। पर्यटकहरूलाई मात्र होइन भारतीय सिने उद्योगलाई पनि निक्कै आकर्षित गरेको इतिहास छयो टोय ट्रेनसित। अस्सीको दशकका सुपरस्टार राजेश खन्नाको आरधनाको मेरो सपनोंकी रानी गीतबाट हिन्दी चलचित्रको रंगीन पर्दामा उतारिएको दार्जीलिङको टोय ट्रेन उमराव , परिणिता, राजु बन गया जेन्टलमेन र दार्जीलिङ लिमिटेड नामक हली हुडको रंगीन पर्दामा पनि उतारिए।


 एउटा सिंगो इतिहास र गौरव समेटेर दुइ फिटको न्यारो गेजमा दौड़िरहेको यो ट्रेन वर्तमानमा भने कतिपय प्राकृतिक आपदा र प्रशासनिक ढिलासुस्तीको कारण समस्याहरूसित जुझ्दै आइरहेको छ। सन्‌ 16 जून 2010मा राष्ट्रिय राजमार्ग 55 को पगला झोड़ा नजिक पैह्रो गएपछि दार्जीलिङको यो टोय ट्रेन सिलगड़ी झर्न सकिरहेको छैन। यसबाहेक पनि कहिलेकाहीँ लिकबाटै बाहिर निस्कने दुर्घटनाहरूले यो ट्रेनको प्रसिद्धि र गौरवमाथि दाग लाउन खोजिरहन्छ। सन्‌ 1888-89 देखि 1925 सम्म बी श्रेणीका करिब 34 वटा वाष्फ इञ्जिनहरू रहेका थिए भने हाल केवल 10देखि 12 वटा मात्र यस्ता वाष्फ इञ्जिनहरू दार्जीलिङ हिमालयन रेलवेसित रहेका छन्‌। यसमा पनि आधा जस्तो प्रयोगविहीन भएका छन्‌ भने आधा मरमतिको क्रममा छन्‌। विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि युनेस्को अन्तर्गत विश्व धरोहरको एउटा कार्यालय खरसाङमा स्थापित भयो। यद्धपि 1999 मा विश्व धरोहरको मान्यता पाए यता करिब एक दशकको समयभित्र यो टोय ट्रेनले जसोतसो आफ्नो पुरानो गौरव र दार्जीलिङको इतिहासलाई पर्यटकहरूसित साटिरहेको छ। दार्जीलिङको सामाजिक, आर्थिक एवं भावनात्मक पक्षसित शताब्दीऔं देखि गासिँदै आएको यो ट्रेनलाई अझ पनि संरक्षण र सम्बर्द्धनको खॉंचो छ। यदि समय छँदै यसको उचित संरक्षण हुन नसके यो टोय ट्रेन पनि दार्जीलिङका अन्य ऐतिहासिक धरोहर जस्तै खोइ ट्रेन?बन्न बेर छैन।

No comments: