Pages

Friday 8 January 2016

भू-राजस्व विभागका अधिकारीहरूविरूद्ध पोष्टरिङ

मानहानीको मुद्दा दर्ता गर्ने विभागको चेताउनी
प्रज्ज्वल छेत्री

कालेबुङ, 6 दिसम्बर।
भू-राजस्व विभागका अधिकारीहरूविरूद्ध भ्रष्टचारको आरोप लगाउँदै शहरका विभिन्न ठाउँहरूमा पोष्टर टाँसिएको छ। पोष्टरमा उल्लेख भने अनुसार जमीन पञ्जिकरणको प्रक्रियामा विभागका अधिकारीहरूले व्यापक रूपमा भ्रष्टचार गरिरहेका छन्। यसैले विभागका सह-सहायक र अधिकारीहरूलाई होशियार गराउँदै पोष्टरमा भ्रष्टचारको मामिला उल्लेख गरिएको छ। ‘स्थायी सरकारी तलब खाएर पनि जमीन पञ्जिकरण(दलाली पत्र) बनाउँदा दलाली गरेर कमिशन खाने भू-राजस्व विभागका भूमि सहायक एवं अफिसरहरू होशियार। जनताको नजर तिमीहरूमाथि छ।’ कालेबुङ जनताको नाममा टालिएको पोष्टरमा उपरोक्त कुरा उल्लेख छ। सूत्र अनुसार उक्त आरोपको मामिला कालेबुङ बार एसोसिएसनमा पनि आएको छ। जस अन्तर्गत उक्त आरोपको जाँच गर्न बार एसोसिएसनले एक निरिक्षण टोली पनि गठन गरेको छ। टोलीमा अधिवक्ता राजीव पराजुली, प्रताप खाती अनि टीएन भोटिया सामेल छन्। यद्यपि हाल कालेबुङ न्यायाय शितकालीन विदाको कारण बन्द रहेको छ। यसैले आगामी 27 जनवरीका दिन बिदा सकेपछि नै सो जाँच प्रक्रिया अघि बढ्ने कोट सूत्रले जनाएको छ। कोर्ट सूत्रले अझ जनाए अनुसार जमीन पञ्जिकरण सम्बन्धमा डीट, म्यूटेसन जस्ता आवश्यकीय काजपत्र अधिवक्ताहरूले बनाउने गर्छन्। तर विभागका अधिकारूहरूले भने पञ्जिकरणका निम्ति आएका मानिसहरूबाट कमिशन खाँदै  अधिवक्तामार्फत कागज-पत्र बनाउने गर्छन्। जसले गर्दा सम्बन्धित अधिकारीहरूले एजेन्ट अनि अधिवक्तामाझ दलाली गरेर कमिशन खाने गरेको आरोप छ।

यस सम्बन्धमा भू-राजस्व विभागका महकुमा भूमि एवं भूमिसुधार अधिकारी ईटी नाम्चुसित प्रश्न गर्दा उनले विभागविरूद्ध लगाएको आरोप पूर्ण रूपमा निराधार रहेको बताए। उनले भने, अधिकारीहरूले अधिवक्ता अथवा भेण्डरहरूसित मिलर दलाली गरेको छ भने यसको प्रमाण देखाउनुपर्छ। सम्बन्धित अधिकारीविरूद्ध लिखित रूपमा उजुरी दिए विभागले कार्यवाही गर्नेछ। तर कालेबुङ जनता भनेर केही व्यक्तिहरूले विभागलाई बद्नाम गर्ने प्रयास गर्दैछ। यदि ती आरोप लगाउने मानिसहरूले आफ्नो परिचय सार्वजनिक गरेको खण्डमा हामी उनीहरूविरूद्ध मानहानिको मुद्दा दर्ता गर्नेछौँ। वास्तवमा विभागले सबै काजपत्र ठिक नभेट्टाए त्यस काजपत्र रद्द गर्नुपर्ने हुन्छ। जुन मानिसहरूको कागज-पत्र ठिक नहुँदा रद्द गर्नुपर्ने हुन्छ ति नै मानिसहरूले असन्तुष्टिको कारण विभागलाई बद्नाम गरिरहेको हुनसक्ने अधिकारी लेप्चाले बताए।   

No comments: