Pages

Sunday 31 March 2013

मङ्पूमा कथाकार उदय थुलुङ अनि कवि मनोज बोगटीलाई सम्मान

डी के वाइबा, मङपू 30 मार्च। कथा संग्रह ‘एकान्तवास’को निम्ति नेपाली साहित्य अकादमी पुरस्कारले सम्मानित कथाकार उदय थुलुङ अनि ‘घाउका रङहरु’ कविता कृतिको निम्ति युवा साहित्य अकादमी पुरस्कार पुरस्कारले सम्मानित कवि मनोज बोगटीलाई आज मङपूमा अभ्यर्थना जनाईयो। श्री सत्य साई सेवा संगठन मङ्पूको आयोजनामा साई निलयममा सम्पन्न अभ्यर्थना एंव काव्यञ्जली कार्यक्रममा कथाकार उदय थुलुङ अनि कवि मनोज बोगटीलई सम्मान जनाउँने कार्य भएको थियो।

 प्रणव मन्त्रोच्चारण गरेर शुरु भएको कार्यकरममा मुख्य अतिथिका रुपमा श्री सत्य साई सेवा संगठनका पूर्व राज्य समन्वयक विवेक केशर पाण्डे उपस्थित रहेका थिए। कार्यक्रमको पूर्वार्द्धमा अध्यात्मिक कार्य सम्पन्न भयो भने यस अवसरमा मुख्य अतिथि विवेक केशर पाण्डेले अध्यात्मिक वार्ता राखे। तिनले सम्बोधन गर्दै अध्यात्म अनि साहित्य एकार्कको सम्पूरक रहेको बताए।

 कतिपय अध्यात्मिक ग्रन्थहरुको उदाहरण प्रस्तुत गर्दै वास्तवमा साहित्य नै अध्यात्मको निकट रहेको जनाए। साहित्यकै माध्यमबाट मानिसहरुले ईश्वरलई समेत नजीक पाउँन सक्ने बताउँदै साहित्य अनि अध्यात्मको गहिरो तालमेल रहेको विवेक केशर पाण्डेले जनाए। कार्यक्रमको दोस्रो चरणमा भने अभ्यर्थना कार्य सम्पन्न भयो। नेपाली साहित्यमा वर्ष 2012को नेपाली साहित्य पुरस्कार प्रापक कवि – कथाकार उदय थुलुङलाई मुख्य अथिति विवेक केशर पाण्डेको बाहुलीबाट प्रशस्ति पत्र, स्मृति चिन्ह तथा माल्यार्पण गरेर सम्मान गरियो। 

यस अवसरमा युवा साहित्य अकादमी पुरस्कारले सम्मानित कवि मनोज बोगटीलाई अघिबाटै साहित्य अकादमी पुरस्कारले सम्मानित कवि मोहन ठकुरीको बाहुलीबाट प्रशस्ति पत्र, स्मृति चिन्ह अनि माल्यार्पण गरेर सम्मान गरियो। यता कार्यक्रममा सम्मानित कथाकार उदय थुलुङले पुरस्कार पाउँदा अत्यन्तै हर्ष लागेको बताउँदै आफुले पुरस्कार पाउँदा यस वर्ष कही कतैबाट बिरोध तथा विवाद सृजना नभएकोमा धेर खुशी लागेको जनाए। 

आफुले पुरस्कार पाउँने घोषणा हुन साथै सबैतिरबाट साहित्यकारहरुले सन्तोष व्यक्त गर्दै बधाई दिएको बताउँदै पुरस्कारले जिम्मेवारी बृद्धि भएको पनि तिनले जनाए। यसै अवसरमा अर्का सम्मानित व्यक्ति कवि मनोज बोगटीले पुरस्कार पाउँदाको हर्ष व्यक्त गरे। आफुले यस पुरस्कार पाउँछु भन्ने नसोचेको समयमा पुरस्कार पाउँने खबर पाउँदा आफैलाई एकपल्ट विश्वास समेत नलागेको बताउँदै उक्त पुरस्कारले लेखन क्षेत्रमा अझ प्रोत्साहन जागेको बताए। यस अवसरमा काव्याञ्जली कार्यक्रम पनि सम्पन्न भयो। 

उक्त काव्याञ्जली कार्यक्रममा कवि मोहन ठकुरी, उदय थुलुङ, मनोज बोगटी, सुधीर छेत्री, देवलाल मोक्तान, सुरज रोसुरी आदिले कविता वाचन गरे। श्री सत्य साई सेवा संगठन मङ्पूमा सयोजक पप्पु पाण्डे अनि कवि मोहन ठकुरीले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रे दायित्ववाहक प्रेमदिप राईले धन्यवाद ज्ञापन गरे।

No comments: