Pages

Friday 15 February 2013

मल्टिनेशनल कम्पनिहरुबाट ठगिने घटना बिषयमा एचपीसीको बहस

कालेबुङ 15 फरवरी। कालेबुङमा छोटो समयमा धेरै मुनाफा दिलाउँने प्रलोभन देखाएर करोडौ रुपीया गुटमुटाएर चम्पट कस्ने फर्जी कम्पनीहरुबाट कसरी बाँच्नु भन्ने बिषयमा आज हिमालयन पिपल्स च्यानल (एचपीसी)को आयोजनामा यहाँको टाउनहलमा बहस कार्यक्रम सम्पन्न भयो। उक्त बहस कार्यक्रममा कालेबुङमा सञ्चालन हुँदै आईरहेको मोठ 27 वटा मल्टिनेशनल कम्पनिहरुका प्रतिनिधीहरुले भाग लिएका थिए।

 उक्त बहसमा पुलिस प्रशानसनको पक्षबाट अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, कानूनविद प्रभाकर देवान, नगरिक प्रशासनको पक्षमा डेपुटी म्याजिस्ट्रेट प्रितम लिम्बु, सम्बन्धित क्षेत्रका विशेषज्ञ चार्टर एकाउण्टेंट सुमित जिन्दलले भाग लिएका थिए। यसका साथै कार्यक्रममा साधरण मानिसहरुको पनि सहभागीता उत्साहजनक रहेको थियो।

 घरी घरी फर्जी कम्पनिहरुले ठगेर मानिसहरुको पैसा लगेको घटनाले राम्रो कम्पनीहरुको विश्वसनियता माथि पनि अहिले शंका उठन थालेको कारण अनि राम्रो कम्पनिको पहिचान कसरी गर्न सकिन्छ भन्ने बिषयमा उक्त बहसमा व्यापक चर्चा भयो। उक्त बहसमा सबैपक्षका मानिसहरुमाझ जोडले बहस भए पछि घरी घरी ठग्न परिरहेको घटनालाई नियन्त्रण गर्न प्रशासन, ऐनजीवि, नागरिक समाज अनि कम्पनिहरुले आपसी समझदारीका साथ एउटा साझा सहमतिमा एउटा सल तयार गरेर निगारानी राख्नुपर्ने सहमती जनाएको छ।

 बहसको अवधीमा कालेबुङमा केही निजी कम्पनीहरुले प्रलोभनमा पारेर यहाँका सर्वसाधारणबाट करोडौ रुपियाँ लुट्ने गरेको घटना लगातार दोहोरिरहेको कुराबारे चर्चा भयो। यस्ता घटनाहरुका कारण अहिले विद्यमान रहेका निजी कम्पनीहरुको नीति, योजना, वैद्यता, विश्वसनीयतामाथि शंकाको वातावरण बनिएकोले सम्बन्धित पक्षहरुको जवाफदेहिताबारे कार्यक्रमा जोर दिइएको थियो।

 कार्यक्रमलाई पत्रकारहरु प्रदीप लोहागुण अनि अनिल तेलैजाले मध्यस्थता गरेका थिए| पत्रकार भुवन पी. खनालले सञ्चालन गरेको कार्यक्रममा एचपीसीका निर्देशक सन्दीप कुलुङले स्वागत भाषण राखेका थिए। पहाडमा बिगत देखि बर्तमान सम्म बिभिन्न प्रकारका कम्पनीहरु मानिसहरुलाई प्रलोभन देखाउँदै आएर आखिरमा पैसा धुतेर चम्पट कसेको घटनाहरु हुँदा हुँदै पनि मानिसहरुले कम्पनिमा लगानी गर्नु एउटा गम्भिर बिषय रहेको कुरा पनि बहसमा चर्चा भयो।

 लगानीकर्ताहरुले वास्तवमा कम्पनिका पोलेसी अथवा वैद्यताबारे नबुझी लगानी गरिरहेको कारण यसरी ठगिनु परेको कारण अहिले विश्वसनीय कम्पनेहरुलाई शंकाको घेरोमा मानिसहरुले हेर्ने गरेको पनि चर्चामा उठ्यो। यसको निम्ति सबैभन्दा पहिले लगानीकर्ता सचेत बन्नुपर्ने कुरामा नै सबैले जोड दिए। यद्यपी उक्त ठगिनेक्रमलाई रोक्थान गर्न सञ्चालन हुने कम्पनीहरुले आफ्नो आवश्यक दस्तावेज नागरिक प्रशासन, पुलिस प्रशासनलाई दिन आवश्यक रहेको कुरामा पनि सबैले जोड दिए।

 उक्त बहस पछि महकुमा अधिकारी कार्यालयका डेप्युटी मेजिष्ट्रेट प्रीतम लिम्बुले आफ्ना उच्च अधिकारीसँग आजको बहसको निचोडबारे छलफल गरी यस दिशामा चाढै पहल शुरु गर्ने प्रतिश्रुति दिएका छन। अर्कोतिर, वरिष्ठ अधिवक्ता प्रभाकर देवान अनि चार्टर एकाउण्टेण्ट सुमित जिन्दलले लगानीकर्ताहरुले कम्पनीको व्यानरलाई नहेरेर यसका स्थानीय प्रतिनिधिको छबि, पृष्ठभूमि र विश्वकनीयतालाई पनि जॉंच्नुपर्ने सुझाउ दिएका छन।

No comments: