Pages

Thursday 22 November 2012

डा हर्कबहादुर छेत्रीको बयान प्रति बर्सिए बिपक्षी राजनैतिक पार्टीका नेताहरु

 डी के वाइबा, कालेबुङ २२ नोभेम्बर। “कसैले पनि एकैपल्टमा गोर्खाल्याण्ड ल्याए टिस्टामा हामफाल्छु” भनेर कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले दिएको बयान 24 घण्ट बित्न नपाई बिपक्षी राजनैतिक पार्टीका नेताहरुले डा हर्कबहादुर छेत्रीको बयान प्रति कडा प्रतिक्रिया जनाएको छ। तिनले बिपक्षी पार्टीहर्लाई दिएको चुनौति प्रति बिपक्षी पार्टीहरुले पनि कुनै बिलम्ब नगरी प्रतिक्रिया जाहेर गरेपछि पहाडमा आरोप प्रत्यारोपको लडाई एकपल्ट चर्किने छाँट देखा परेको छ।

 डा छेत्रीले कुनै पनि राजनैतिक पार्टीको नाम नलिईकन गोर्खाल्याण्डको कुरा गर्ने सबै दलहरुलाई चुनौति दिदै उक्त बयान दिएपछि आज अभागोली, क्रामाकपा, गोर्खाल्याण्ड टास्क फोर्स, पिपल्स फोरमले छेत्रीमाथि सोझै वाकयुद्ध छेडोको छ। यस सन्दर्भमा “टिस्टा हाम्फाल्छु” भन्ने बयानको कडा प्रतिक्रिया जनाउँदै अखिल भारतीय गोर्खालिग (अभागोली) पार्टीका महासचिव प्रताप खातिले ‘ममता व्यानर्जीले बङ्गभङ्ग होबेना भन्नु र डा. हर्कबहादुर छेत्रीले गोर्खाल्याण्ड हुँदैन भन्नु एकै हो। किन भने डा. छेत्री बङ्गालका दलाल हुन्’ भने। 

डा छेत्रीले दार्जीलिङ बङ्गाल बाहिर छुट्टिएको हेर्न नचाहेको कारण तिनले त्यस्तो उत्पट्याङ बयान दिएको पनि आरोप लगाए। खातीले बिधायक डा हर्कबहादुर छेत्रीमाथि तिखो हमला बोल्दै तिनी गोर्खाल्याण्डको नाममा बटुलिएको भोटले नै विधायक बनेका हुन् भन्ने दाबी गरे। यसैक्रममा अभागोली महासचिव खातिले बिधायक डा छेत्री अनि गोजमुमो पार्टी प्रति कटाक्ष गर्दै सोझै गोर्खाल्याण्ड हुँदैन भन्ने नेतहारुले किन गोर्खाल्यांडको नाउँमा भोट लड्यो ? किन गोर्खाल्याण्डको नाउँमा जसवन्त सिहलाई सांसद बनायो ? भनि प्रश्न तेर्साए।

 तिनले बिगत दिनमा चुउट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन हुँदा गोजमुमो प्रमुख बिमल गुरुङले ‘गोर्खाल्याण्डको निम्ति आङ बॉंधेर निस्किएको छु’ भनेको त्यसो हो भने हावा कुरा हो? भनि अझ प्रश्न गरे। तिनले डा. हर्कबहादुर छेत्री पहाडका मिरजाफर हुन् भन्ने आरोप लगाउँदै अहिले तिनी बङ्गालको भाषा बोलिरहेको पनि आरोप लगाए। अर्कोतिर कालेबुङका बिधायक एंव गोजमुमो प्रवक्ता डा हर्कबहादुर छ्त्रीको बयान प्रति क्रामाकपाले पनि प्रतिक्रिया जनाएको छ। 

क्रामाकपा प्रवक्ता गोबिन्द छेत्रीले डा. छेत्रीको चुनौतीलाई “माछेर तेले माछेर भाज” भने। “डा. छेत्रीले विधानसभा चुनाउ गोर्खाल्याण्डको नाममा जितेका हुन्। विधानसभामा अन्तिम स्वास भएसम्म गोर्खाल्याण्डको कुरा उठाउँछु भन्ने तिनी नै हुन्। आज भाका फेरेर जनतालाई ढाँट्ने काम गर्नुहुँदैन। यदि गोर्खाल्याण्ड ल्याउन सक्दैन भने विधायकबाट राजिनामा दिनुपर्छ अनि बङ्गालको भाषा बोल्न बिधायकलाई पटक्क सुहाँदैन” गोबिन छेत्रीले भने। तिनले डा छेत्रीलाई तृणमूल कङ्ग्रेसको प्रवक्ता हुन भन्ने आरोप लगाउँदै तृणमूल कङ्ग्रेसको प्रवक्ताले यो भन्दा धेर कुरा गर्न सक्दैन भने।

 क्रामाकपा प्रवक्ता गोबिन छेत्रीले उल्टै डा हर्कबहादुर छेत्रीलाई चुनौति दिदै “यदि गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड ल्याए टिस्टामा हाम फाल्न मिल्नेछ किन भने जनताले थाहा पाइसकेका छन्, मोर्चाले गोर्खाल्याण्ड ल्याउन सक्दै” भने। यता डा हर्कबहदुर छेत्रीको बयान प्रति प्रतिक्रिया गर्ने क्रममा पिपल्स फोरमले डा छेत्री बङ्गाल सरकारको दलाल हो भने। पिपल्स फोरमका महासचिव प्रविण गुरुङले “दलालले दलालको भाषा बोल्दा अचम्म मान्नु पर्दैन” भने।

 तिनले अझसम्म गोजमुमो पार्टीले गोर्खाल्याण्डको आन्दोलन गरेको छैन भन्ने दाबी गर्दै गोर्खाल्याण्डको नाउँमा बङगाल सरकारको ईशारामा गोर्खाल्यांडको आवजलाई दबाउँन आतङक फैलाउँने कार्य गरिरहेको आरोप लगाए। गुरुङले आन्दोलन अवधी भएको ११ वटै वार्ता गफ होईन भन्ने मन्तब्य प्रति कटाक्ष गर्दै उक्त वार्ताहरु सबै फोकटे गफ हो भने। यदि उक्त वार्ताहरु गफ होईन भने त्यसको उपलब्धि खोई भन्ने प्रश्न गर्दै जीटीएलाई उपलब्धि मान्न नसकिने बताए। 

यसै सिलसिलामा गुरुङले “गोली ठोक्छु भन्ने जिउँदै रहनेको पार्टीमा टिस्टामा हामफाल्छु भन्नु के नयॉं कुरा होईन” भने। अर्कोतिर गोर्खाल्याण्ड टास्क फोर्सले पनि डा छेत्रीको बयान प्रति टिप्पणी गरेको छ। गोटाफोले अन्य राजनैतिक दलहरुले भन्दा बेग्लै तरिकाको प्रतिक्रिया जाहेर गर्दै गोटाफोका राष्ट्रिय संयोजक आर मोक्तानले “उत्तराञ्चल, छत्तीसगड र झारखण्ड बनिन सिँडी चाहिएन। किन गोर्खाल्याण्डको निम्ति मात्र सिँडी चाहिएको हो?” भने। डा छेत्रीले गोर्खाल्याण्डको निम्ति भोट मागेको अनि त्यही भोटले विधायक बनेपछि गोर्खाल्याण्ड हुँदैन भन्नु लज्जास्पद रहेको पनि बताए बताउँदै बङगाल सरकारको स्तुती गाउँनु लजास्पद रहेको बताए।

No comments: