Pages

Friday, 14 September 2012

पहाडमा शुरु भयो पैह्रोको ताण्डव, सभासदहरु दौडिए क्षेत्रको भ्रमणमा

डी के वाइबा, कालेबुङ 14 सितम्बर| हिज बेलुका देखि परेको अविरल बर्षाले दार्जीलिङ पहाडमा पैह्रोको त्रासदी शुरु भएको छ। बिगत बर्ष भूईँचालोले मच्चाएको त्रासदी एक वर्ष पुग्न ठिक तीन दिन अघि मात्र पहाडमा पैह्रोको त्रासदी शुरु भएको छ। बीस घण्टा भन्दा धेर समयदेखि लगातार बर्षा भईरहेको कारण यहाँको भालुखोप ग्राम पञ्चायत अन्तर्गत महाकाला डाँडा बडा भालुकोपमा पैह्रो गएको कारण सडक यातायात पूर्णरुपले बिच्छिन्न बनेको छ।

 सडक यात्रा बिच्छिन्न बनेपछि उक्त बाटो भएर यात्रा गर्ने मानिसहरुको सम्पर्क कालेबुङ शहसंग पूर्ण रुपले टुटेको छ। माथिबाट पैह्रो सोहोरिएर आएर बाटोमा थुप्रिए पछि महाकाल डाँडा, बडा भालुखोप, पेथोङ, बिम्बोङ राईगाउँ, खाम्दोङ, खर्क आदि गाउँहरुको सम्पर्क शहरसंग बिच्छेद भएको छ। पैह्रोले बाटो बन्द बनेपछि आज उक्त क्षेत्रबाट दैनिक कालेबुङ शहरमा रहेको बिभिन्न बिद्यालयहरुमा अध्यनरत बिद्यार्थीहरु बिद्यालय आउँन समेत सकेनन भने उक्त गाउँहरुबाट दैनिक शहरमा दूधको व्यापार गर्नेहरु पनि यातायात टुटेपछि आफ्नो दैनिक व्यापारबाट बञ्चित बन्न पुगेका छन।

 यसका साथै क्षेत्रका बिरामीहरु पनि उक्त पैह्रोको चपेटमा परेर समस्यामा परेका छन। पैह्रोले क्षेत्रको यातायात बन्द बनेपछि आज उक्त पैह्रोग्रस्त क्षेत्रको जानकारी लिन सभासद निमा तामङ, खण्ड बिकास अधिकारी अनन्दिता भौमिक, ग्राम पञ्चायत सचिव गजेन छेत्री आदि स्थल्गत भ्रमणमा पुगेका थिए। यस अवसरमा पञ्चायत सचिव गजेन छेत्रीले पत्रकारहरु संग कुराकानी गर्दै यतायातलाई पूर्णरुपले सुचारु गर्न उक्त पैह्रो सोर्न पञ्चायतको पक्षबाट यथाशिघ्र पहल गर्ने जानकारी गराए।

 तिनले हाल आफुहरु पैह्रोग्रस्त क्षेत्रको जानकारी लिन स्थलगत भ्रमणमा हिडेको बताउँदै पैह्रोले कसैको ज्यान क्षति भएको खबर भने अहिलेसम्म प्राप्त नभएको जनाएका छन। तिनले कतिपय स्थानहरुमा मनरेगा योजना मार्फत निर्माणाधीन सडकहरु पनि जता ततै पह्रोले बिग्रेको जनाउँदै उक्त स्थानहरुमा नालीको व्यवस्था व्यव्स्थित पार्न बिभागीय पहल गर्ने जनाए। यसै सिलसिलामा पैह्रोग्रस्त क्षेत्रको जानकारी लिन पुगेका सोहि समष्टिका सभासद निमा तामाङले शहरसंग सम्पर्क बिच्छिन्न बनेको गाउँहरुलाई पुन: यातायातको सुबिधा बनाउँन उक्त पैह्रो बाटोबाट सोर्ने कार्यको थालनी गर्ने जानकारी गराउँदै आफ्नो पक्षबाट यातायात सुचारु बनाउँन दुई लाख रुपीया दिने घोषणा समेत गरे।

 अर्कोतिर अविरल बर्षाले कालेबुङ नगरपालिका अन्तर्गत यहाँको मंगलडाँडा स्थित 19 नम्बर वार्डका मोहन सेवाको घर माथिबाट झरेको पैह्रोले क्षतिग्रस्थ बनेको छ भने उक्त घरको जानकारी लिन नगरपालिका उपाध्यक्ष गंगामाया गुरुङ, बिधायक डा हर्कबहादुर छेत्री, सभासद काजिम छिरिङ भोटिया पुगेका थिए। उक्त पैह्रो बिहान साँढे छ बजेतिर गएको थाह लागेको छ भने पैह्रोले घर क्षतिग्रस्त बनेपछि सबै सामग्रीहरु सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ। सोहि सिलसिलामा सात माईल स्थित मिलन क्लब नजिक दिपक कुमार छेत्रीको घर पैह्रोको चपेटमा पर्न गएको छ।

 तिनको घर मुनिबाट पैह्रो गएको कारण घर भित्र जताततै चर्किएको छ भने उक्त घर कुनै पनि समय झर्न सक्ने स्थितिमा पुगेको छ। यता छ माईल निवासी बाबुराम राईको घर पनि माथिबाट आएको पैह्रोले पुरिएको छ। तिनको घर पैह्रोले पुरिएको भए पनि घरका सदस्यहरु भने भाग्यले बाँचेका छन। माथिबाट पैह्रो झरेर घरको पछिल्लो भाग पुरिन्दा तिनीहरु घरको बहिरी कोठामा रहेको कारण बाँच्न पुगेको बाबुराम राईले बताएका छन। तिनको घरलाई पैह्रोले प्रभावित पारेपछि आजदेखि पञ्चायत भवनमा स्थान्तरण गरिएको छ।

 यसै अवसरमा सभासद काजिम छिरिङ बोटियाले तिनलाई तत्काल सहयोग राशी समेत प्रदान गरेको छ। अर्कोतिर टाँसिडिङ ग्राम पञ्चायत अन्तर्गत पोस्योर फरेष्ट भिलेज जाने एकमात्र पूल खोलाले बगाएर लगेको छ। जसको कारण क्षेत्रवासीहरु समस्यामा परेका छन। उक्त गाउँमा मोठ चालिस परिवारहरु छन भने तिनीहरु दैनिक दूध, साग सब्जि आदिको ब्यापार गरेर जीविकाउपार्जन गर्छन भने एकमात्र पूल समेत बगाएल लगे पछि बिलखबन्दमा परेका छन। यता सोहि क्षेत्रका बिद्यार्थीहरु पनि एकामात्र पूल भत्केपछि अध्ययनको निम्ति बिद्यालय आउँन समस्यामा परेका छन।

 यता लगातार परेको पानीले पाँच माईल घुम्तिदेखि पोस्योर जाने काठको पूल भत्केर खोलामा झरेको छ भने उक्त पूलबाट हिड्ने गाउँलेहरु समस्यामा परेका छन।

No comments: