बिशेष प्रतिनिधी, कालेबुङ 25 जुलाई : “सञ्चबीरले गोजमुमो पार्टीको बिरोध गरेको होइन, मोर्चा अध्यक्ष बिमल गुरुङको पनि बिरोध गरेको होइन। यहाँ पार्टीले चयन गरेको प्रार्थीलाई चुनौति दिन मैदानमा पनि उत्रेको होइन तर 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिका जनताको चाहना यस्तो छ, यहाँका जनताले स्थानीय प्रतिनिधी चाहेका छन भन्ने सन्देश दिन नै सञ्चबीर आज जनताको पक्षमा चुनावी मैदानमा निर्दलीय प्रार्थीको रुपमा खडा भएको हो” – उक्त कुरा निर्दलीय प्रार्थी सञ्चबीर सुब्बाले बुधबारे बजारमा आयोजित दोस्रो चुनावी जनसभालाई सम्बोधन गर्दै भनेका हुन।
तिनले चुनावी जनसभालाई सम्बोधन गर्दै आफु बिगत दिनमा चिउरा, मकै र प्रतिपक्षिहरुबाट ढुंगाको प्रहार खाँदै गोर्खाल्याण्ड आन्दोलनमा होमिएको बताउँदै आज आएर जनताको पक्षमा निर्दलीय प्रार्थीको रुपमा चुनाउमा खडा हुँदा गोर्खाल्याण्ड बिरोधी भयो भन्नु गलत हुने बताएका छन। तिनले जीटीएमा बिभिन्न समष्टिहरुको साँध सिमाना छुटिने कार्य भईसकेको बताउँदै साँध सिमाना छुट्टिसकेपछि त्यस क्षेत्रका जनतालाई आफ्नो भाग्य निर्धारणको निम्ति अन्य ठाउँहरुबाट मानिसहरु आएर हस्तक्षेप गरेर जनतालाई भ्रममा पार्ने काम गर्नु नहुने बताएका छन। यसै क्रममा तिनले “जीटीएमा साँध सिमाना छुट्टिने कार्य सकेको छ। सिमाना छुट्टिनु भनेको छ आ आफ्नो घरको धुरी खम्बा गाडीसक्नु हो। अब धुरी खम्बा गाडीसकेपछि बनिने घरमा खिड्की कता बनाउँनुपर्छ, दैलो कता बनाउँनु भन्ने कुरा क्षेत्रका जनतालाई जिम्मा दिनुपर्नेमा यहाँ बाहिरबाट ल्याएर जनताले नचाहेको दैलो खिड्की बनाउँछु भन्नु ठिक होईन” – सुब्बाले भने।
हामीले कसैको बिरोध गरेका होईनौ भन्दै यहाँ आफ्नो घरको देखरेख आफै गर्न पाउँनुपर्छ भन्दा कसरी गोर्खाल्याण्ड बिरोधी भयो भनि तिनले प्रश्न तेर्साएका छन। यसै सन्दर्भमा तिनलाई हेर्ने कालो चस्मा भएको कारण सबैले कालो देखिरहेको बताउँदै यहाँ बिनाकारण आफ्नो खोईरो खन्ने कार्य भएको बताउँदै “कालो चश्मा” लगाउँनेहरुले सबैलाई कालोदेखेको आरोप लगाए। तिनले आजको चुनावी जनसभामा मतदाताहरुले आफ्नो मताधिकार स्वेच्छाले प्रयोग गर्नु भनि बताउँदै भोट हाल्ने मौलिक अधिकारबाट जनतालाई बञ्चित पार्न नहुने बताए। यहाँ चुनाउलाई लिएर कतिपय मानिसहरुले व्यक्तिगत स्वार्थपूर्तिको निम्ति राजनीतिलाई गलत तरिकाले प्रयोग गरिरहेको बताउँदै यसलाई राजनीति होईन कुटनीति भन्छ भन्दै अब कुटनीति होईन राजनीति गर्न सिकौ भनि सुझाव दिए। आगमी दिनहरुमा गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्छ भने आफु पहिले जस्तै निस्वार्थरुपले आन्दोलनमा खटने बताउँदै 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टि बस्ति क्षेत्र रहेको कारण बस्तिको व्यथा बस्तिले बुझ्ने भएकै कारण पनि स्थानीय जनताले स्थानीय प्रतिनीधी हुनपर्छ भनेर माग गरिरहेको हुँदा हुँदै यहाँ जनताको आवजलाई दबाउँने कार्य भएको पनि सुब्बाले आरोप लगाएका छन। अहिले आफु निर्दलीय प्रार्थीको रुपमा खडा भएकोले स्थानीय जनताको सम्मान बड्नुको साथै कहिल्यै बस्ति नदेखेका नेताहरु बस्तिको समस्या बुझ्न गाउँ गाउँमा आउने कार्य गरेको पनि तिनले बताएका छन।
41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टि अन्तर्गत बुधबारे बजारमा आयोजित निर्दलीय प्रार्थी सञ्चबीर सुबाको दोस्रो दिनको चुनावी जनसभामा पनि स्थानीय मानिसहरुको व्यापक उपस्थिति रहेको थियो। यस अवसरमा क्षेत्रका मानिसहरुले सञ्चबीर सुब्बा आन्दोलन कालदेखिनै सक्रिय रहेको बताउँदै तिनलाई नै क्षेत्रको बिकाशको निम्ति जनताले रुचाएको बताए। स्थानीय वयोबृद्ध व्यक्ति मनबहादुर मंगरसंग सञ्चबीर सुब्बाबारे प्रश्न गर्दा तिनी एकजना युवा अनि ईमान्दार नेता रहेको कारण सबै जनता तिनको पक्षमा रहेको दाबी गरे। बस्तिका सोझा र केहि नजान्ने मानिसहरु कल्याण देवानलाई भेटन कालेबुङ बारम्बार जान नसक्ने बताउँदै सञ्चबीर सुब्बा गाउँले भएको कारण पनि जनताको समर्थन रहेको दाबी गरे।
ज्ञात रहोस, जीटीए चुनावको समय जति नजिक आईरहेको छ त्यतिनै 41 नम्बर निम्बोङ गितडाब्लिङ समष्टिमा चुनावको ज्वरो जोडले तातिएको छ। गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङले उक्त समष्टिमा पार्टी उपाध्यक्ष कल्याण देवानलाई उम्मेद्वार बनाएपछि शुरु भएको चुनावी ज्वरो चुनाउ अघि सकिने कुनै छाँट देखा परेको छैन। मोर्चा अध्यक्ष गुरुङले आफुले चयन गरेका प्रार्थी कल्याण देवानको प्रचारमा उक्त समष्टिका जनताहरुलाई लिएर सिञ्जिमा जनसभा गरुञ्जेल सम्म पनि मौन बसेका निर्दलीय प्रार्थी सञ्चबीर सुब्बा अहिले गुरुङ दार्जीलिङ फर्किन साथ चुनावी जनसभाहरुबाट बोल्न थालेका छन। जसको कारण मोर्चाले पुन: उक्त समष्टिमा चुनावी प्रचार अभियान भित्र भित्रै तिब्र पारेको छ। यता मोर्चाले चुनावी प्रचार तिब्र पारिरहेको छ भने उता सञ्चबीर सुब्बा पनि चुनाउ प्रचारमा व्यस्त बनेको कारण क्षेत्रमा चुनाउको ज्वरो दार्जीलिङ पहाडको 45 वटा समष्टिहरु मध्ये 41 नम्बरमा अत्याधिक बडेको छ। अर्कोतिर मोर्चा प्रमुख बिमल गुरुङले मोर्चा उपाध्यक्ष कल्याण देवानको पक्षमा चुनाउ प्रचार गरेर दार्जीलिङ फर्किए पछि सञ्चबीर सुब्बा लगातार जनसभाहरुमा बोल्न थाल्दा मोर्चाले तिनलाई चुनावी मैदानमा पछार्न भोलि नारी मोर्चा प्रमुख आशा गुरुङ देवानको चुनाउ प्रचारमा सञ्चबीर सुब्बाको गाउँमा जनसभालाई सम्बोधन गर्न पुग्ने भएकी छिन।
No comments:
Post a Comment