डी के वाइबा: कालिमन्युज, कालेबुङ 17 मई : बोटानिकल सर्वे अफ ईण्डियाद्वारा कोलकताको बोटानिकल गार्डनमा आयोजित पुष्प साथै औषधीय पौधाहरुको प्रदर्शनीमा मङपू सिन्कोना बगानले प्रथम पुरस्कार हात पारेपछि पुन: कोलकताको सल्टलेकमा हुने पुष्प तथा औषधीय पौधाहरुको प्रदर्शनीमा आज मङपूबाट 22 जनाको टोलि कोलकता प्रस्थान गर्यो। टोलिको प्रतिनिधित्व सिन्कोना निर्देशक डा जी सी सुब्बाले गरेका छन। उक्त प्रदर्शनी मिलनमेला सल्ट लेकमा हुने भएको छ भने कार्यक्रमको उदघाटन राज्यका मुख्य मन्त्री ममता ब्यानर्जीले गर्ने भएको छ।
सिन्कोना
राज्य सरकारद्वारा आयोजित कार्यक्रममा भाग लिन कोलकता जान अघि सिंकोना निर्देशक डा जी सी सुब्बाले पत्रकारहरुसित कुराकानी गर्दै पहिलेको प्रदर्शनीमा सिन्कोना बिभागले पहिलो पुरस्कार हत्याउँन सक्षम बनेको बताउँदै यसचोटि पनि प्रथम पुरस्कार प्राप्त गर्न सक्ने आशा व्यक्त गरे। डा सुब्बाले जानकारी दिए अनुसार कोलकताको मिलन मेला सल्ट लेकमा हुने उक्त प्रदर्शनी 10 दिन सम्म हुने भएको छ भने सिंकोना बिभागले 10 दिन नै प्रदर्शनी गर्ने भएको छ।
ईपिकेक
बिशेष दार्जीलिङ पहाडमा हुने बिभिन्न प्रजातिका औषधीय पौधाहरु उक्त प्रदर्शनीमा राखिने भएको छ भने पुष्पहरुमा बिशेष रुपले सिम्बेडियम अर्किड अनि फेलोनपसिस अर्किड प्रदर्शनीमा राखिने भएको छ। अहिले घरी दार्जीलिङ पहाडमा बिशेष रुपले सिम्बेडियम अर्किड यहाँको जलवायु अनुरुप राम्रो हुने गरेको कारण यसको खेती ब्यापक रुपले गर्ने बिभागले योजना तयार पारेको बताउँदै यस्तै प्रजातिका अर्किड प्रदर्शनी राखिने तिनले जानकारी दिए। यसै सिलसिलामा तिनले पुष्प प्रदर्शनीको माध्यमबाट पहाडमा हुने प्रजातिका पुष्पहरु बारे कोलकता तथा देशका मानिसहरुलाई अवगत गराउँन चाहेको बताउँदै यदि बिभागको योजना सफल बनेको खण्डमा पहाडका मानिसहरु पुष्प खेति गरेर जीविका उपार्जन गर्न समेत सक्ने तिनले बताए।
हाल बिभागले मङपूमा सिम्बेडियम प्रजातिका अर्किड खेति बृहत रुपमा गर्ने योजना तयार पारेर कार्य थालेको जानकारी गराउँदै यस कार्यले स्थानीय मानिसहरु लाभान्वित बन्ने जानकारी गराए।
सिन्कोना बिभागलाई राज्यको फुड प्रोसेसिङ तथा हर्टिकल्चर बिभागमा हस्तान्तरण गरे पछि अहिले बिभागगै निर्देशनमा सिंकोना बगानमा पुष्प खेतिलाई प्रमुखता दिएर कार्य भईरहेको पनि तिनले जानकारी गराए। बिभागले अर्किड खेतिलाई व्यापक रुपमा गर्ने योजना तयार पारेर कार्य गरिरहेको भएता पनि यस प्रकारको खेति मङपू लगायत मिरिक, कालेबुङ, दार्जीलिङ तथा खर्साङ आदिस्थानहरुमा पनि गर्ने प्रारम्भिक कार्य थालेको तिनले जानकारी गराएका छन। यसै सिलसिलामा तिनले कोलकता हुने प्रदर्शनीमा सिन्कोना बिभागले पुष्प बाहेक औषधीय पौधाहरुमा ईपिकेक, डायसकोरिया, ड्याङरे सल्ला लगायत सुगन्धित तेल उत्पादन गर्ने लेमोनग्रास आदिको प्रदर्शनी गर्ने जानकारी दिएका छन।
No comments:
Post a Comment