Pages

Tuesday, 12 November 2013

उज्यालो देउसी-भैलोको अँध्यारो पाटो


साप्ताहिक; युवराज गौतम 

उल्लास, उत्साह, उमंग र उज्यालोको पर्व तिहारका पाँच दिनका आ-आफ्नै महत्व छन्। त्यसमध्ये तीन दिनसम्म खेलिने देउसी-भैलोको विशेष महत्व छ। संस्कृति धान्न वा मनोरञ्जनका लागि खेलिने देउसी-भैलोको तौर तरिका समयानुकूल बदलिँदै गएको छ। सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्माेनियमको धुनमा तालसुर मिलाएर इतिहास र पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो प्रचलन आजभोलि ठाउँअनुसार परिवर्तन हुँदै गएको छ। भट्याउने भाकाहरू बदलिएका छन।

 सांगीतिक समूह बनाएर पुराना बाजागाजा र पुराना लोकभाका अर्थात् भजनमा खेेलिने देउसीको पुरानो स्वरूप हराउँदै गएको छ। परम्पराअनुसार वा पौराणिक कथाहरूलाई आधार बनाएर भट्याउने प्रचलन हिजोआज कम हुँदै गएको छ। पुराना गायक सूर्य थुलुङ तन्नेरी छँदा गाउँले साथीहरूसँग मिलेर सांगीतिक समूह बनाएर रातभर देउसी खेलेको क्षण सम्झँदै भन्छन्- 'पुराना भाकामा हार्मोनियम, मादल, झ्याम्टा र तालीमा गीत गाएर खेलिने देउसी हिजोआज विरलै देख्न पाइन्छ।' हिजोआज पाश्चात्य संगीत र भड्किलो पोसाकमा देउसीमा उत्रिने चलन बढेको छ।

 मादल, खैजडी, बाँसुरी, चाँप आदि बाजामा गाउँघरका लोकगीत, संस्कृतिलाई समेटेर खेलिँदै आएको देउसी आधुनिक पुस्ताले बिर्सिसकेको छ। यमराजकलाई विषयवस्तु बनाएर दिदी-बहिनी एवं दाजुभाइको स्नेहलाई जोड्ने देउसी-भैलोको चलन कम हुन थालेको छ। कवि ठाकुर बेलबासे हिजोआज ड्रम-सेट, गितार आदि आधुनिक बाजाहरूको प्रयोग गरेर भड्किलो तरिकाले देउसी खेल्ने प्रचलनले चाडबाडको अस्तित्व नै समाप्त हुनेे हो कि भन्ने आशंका गर्छन्। बेलबासे भन्छन्- 'परम्परालाई समयअनुसार परिवर्तन गरेर देउसी खेल्दा संस्कृतिको जगेर्ना हुन सक्छ।'

 दानको दुरुपयोग

 नाङ्लामा एक पाथी धान, एक माना चामल, चामलमाथि बलिरहेको दियो, फलफूल, सेलरोटी र गच्छेअनुसारको दक्षिणा राखेर घरकी गृहलक्ष्मीले देउसेको स्वागत वा बिदाइ गर्ने चलन आफैंमा मौलिक छ। पहिले-पहिले पाँच पैसे र दस पैसे ढ्याक निकालेर देउसेलाई सगुन दिइन्थ्यो। आजभोलि यो चाडलाई चन्दा संकलनको माध्यम पनि बनाएको छ। संकलन भएको रकम सामाजिक काममा लगाउनुको साटो रमाइलो गर्ने वा पिकनिकमा रमाउने प्रचलन बढेर गएको छ। मुखै फोरेर दान माग्ने वा व्यंग्य गर्ने चलनले तिहार विकृत हुन थालेको छ। देउसीका बेला घरबेटीलाई दिइने आशिक पनि भड्किलो पाराले प्रस्तुत गरिदिने र घरबेटीले थोरै रकम दिए व्यंग्य गर्ने चलन पनि बढेको छ। 

 भैलिनीमा पुरुषहरूको प्रवेश

 तिहारमा झिलीमिली बत्तीसँगै गोबरले लिपेको र रेखी हालेको ठाउँमा किशोरी तथा महिलाहरूले भैलिनी गीत गाएर छुट्टै उमङ्ग र रमाइलो थप्ने चलन छ। हुन पनि 'भैलिनी आइन् आँगन गुन्यूचोली माग न..' गीतबाट महिलाहरूले मात्र रमाइलो गर्ने साथै रातभर खेलिने भैलिनीमा पुरुषहरूको प्रवेशले भैलिनीको पनि महत्त्व घट्दै गएको पाइन्छ। ज्योतिष डाक्टर सुनिल शर्माका अनुसार वास्तवमा देउसी पुरुष-महिला मिलेर खेल्ने र भैलिनीचाहिं महिलाले मात्र खेल्ने चलन पौराणिक कालदेखिकै हो, तर हिजोआज पुरुष पनि महिलासँग रमाउँदै भैलो खेल्ने क्रम शुरु भएको छ। 'यसलाई अनौठोचाहिँ मान्नु हुँदैन, समयअनुसार संस्कृतिमा पनि परिवर्तन आएको मान्नुपर्छ,' शर्मा भन्छन्। 

 बिर्सिदै गएका कथाहरू

 देउसी खेल्दा भट्याइने विषयवस्तुहरू फरक-फरक सन्दर्भका हुन्छन्। विशेष गरेर पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्टयाउँदा सुन्नेहरूलाई पनि आनन्द लाग्छ। यस्ता पौराणिक कथाहरू अब क्रमशः हराउँदै गएका छन्। 'हामी त्यसै आएनौं, बलिराजले पठाएको..' भन्ने देउसे र भैलिनीहरूको श्रुतिपरम्पराका कथाहरू पनि अब हराउने क्रममा छन्। त्यस्तैगरी श्रवणकुमार दशरथको कथा साथै यमुनाको कथा पनि चर्चामा छैन। खैंजडीमा भट्याइने रामकथा, कृष्णलीला, राजा हरिश्चन्द्रको कथा, सावित्री र सत्यवान् कथा, महादेव-सतिदेवीको कथा, धुन्धुकारीको कथा हिजोआज चर्चामा छैनन्। 

 सन्देशमूलक देउसीको प्रभाव 

 पछिल्लो समयमा देउसी भैलो सन्देशमूलक तरिकाले पनि खेल्न थालिएको छ। विभिन्न संघ-संस्थाले खेल्ने देउसी-भैलो र ती समूहले भट्याउने विषयवस्तुको फेहरिस्तले सामाजिक सन्देश प्रवाह गरे पनि पौराणिक तथा धार्मिक कथा वा विषयवस्तुहरू ओझेल पर्ने गरेका छन्। विभिन्न समुदाय एवं राजनैतिक दलहरूले अर्थ संकलन गर्ने अभिप्रायले खेल्ने देउसीमा पौराणिक, धार्मिक वा सांस्कृतिक कथाहरू बिर्सन थालिएको छ।

No comments: