Pages

Thursday 9 May 2013

पीड्ब्ल्युडीद्वारा भइरहेको सडकको निर्माण कार्यमा व्यापक आर्थिक अनियमितता भएको छ----- तारा सुन्दास

कालेबुङ, 8 मई। स्थानीय माकपा नेता तारा सुन्दासले पीड्ब्ल्युडीद्वारा यहाँको 11 माइल अप्पर रेशी रोडदेखि 17 माइल फाटकसम्म निर्माण भइरहेको सडकको कार्यमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाएका छन। सुन्दासले आज यस कथित अनियमितताबारे नालिश गर्दै राज्यको पीडब्ल्युडी विभागका मुख्य सचिवलाई ज्ञापन पत्र पनि प्रेषित गरेका छन। तिनले 9 किलोमिटर लामो यो सडकको निर्माणकार्यमा देखा परेको अनियमितताको निम्ति विभागको स्थानीय कार्याकयका एसिस्टेण्ट इञ्जिनियरमाथि दोषारोपण गरेका छन। विभाग अधिकारीले मोटो रकम घूस लिएर यो सडकको निर्माण कार्य नगरेको सुन्दासको आरोप छ। पाँच करोड 60 लाखको लागतको यो सडकको कूल नौमध्ये तीन किलोमिटर सडकको निर्माण कार्य पूरा भएको छ’11 माइलदेखि उता होम्ससम्म नकिलोमिटर सडक सन्तोषजनक रुपले निर्माण भएको छ।

 तर त्यस उताको रहल सडकको अवस्था अत्यन्तै शोचनीय छ। यस्तो अवस्थामा पनि विभागले कानमा तेल हालेर बस्छ भने यो सरासर अन्याय हो’ सुन्दासले भने। केन्द्र सरकारको ग्रामिण पूर्वाधार विकास कोष(आरआइडीएफ)-को योजनाअन्तर्गत 9 किलोमिटरको यो सडकको निर्माण कार्य भइरहेको छ। बर्ष 2011को जूनमा यसको टेण्डर भएपछि निर्माण कार्य शुरु भएको हो। तर तीन किलोमिटर सडक निर्माण कार्य पूरा भए पनि रहल कार्य थाँतीमा रहेको छ।

 यो सडकको निर्माणको निम्ति केन्द्रबाट कोष आवण्टन भएको लामो समयसम्म पनि विभागले कुनै तत्परता नदेखाउँदा माकपाकै पहलमा टेण्डरप्रक्रिया आरम्भ भएको दाबी पनि सुन्दासले गरेका छन। तिनले विभागसम्म कोष उपलब्ध भएर पनि सडकको निर्माण कार्य शुरु हुने छाँट नदेखेपछि आफूले आवाज उठाएको बताउँदै तिनले सो बेला आफूलाई विभागका एसिस्टेण्ट इञ्जिनियरले ज्यानमालको नोक्सान पुर्यानउने धम्की दिएको गम्भीर आरोप पनि लगाएका छन। ‘केन्द्रबाट कोष उपलब्ध भएर पनि काम शुरु नगर्दा मैले विभागमा यसबारे सोधखोज गरेको थिएँ।

 मैले यो कार्यको सोधखोज गरे भनेर त्यो बेला विभाग अधिकारीले केटाहरु ल्याएर मलाई धम्काउने काम गरेका थिएँ। तारा सुन्दासमाथि आक्रमण हुनु ठूलो कुरा होइन तर जनतासँग हुने अन्यायविरुद्ध आवाज उठाउनु ठूलो कुरा हो। मैले त्यही गरेँ’ सुन्दासले भने। तिनले यस सम्बन्धमा कालेबुङ थानामा आपत्ती जाहेरगर्दासमेत कुनै कार्वाही नभएको गुनासो पनि व्यक्त गरेका छन। पीड्ब्ल्युडीका सम्बन्धित अधिकारीविरुद्ध कुनै कार्वाही नभएको घटनाको सम्बन्धमा पुलिस अधिक्षकसँग पत्रचार गर्ने दाबी पनि तिनले गरेका छन।

 तिनले आफ्नो ज्यानको जोखिम उठाएर कार्यरुपमा ल्याएको यस योजनामा विभागीय अधिकारी र ठेकेदारको मिलीभगतका कारण सुगम यातायातको सुबिधाबाट जनता बञ्चित रहनु परेको घटना दुःखद रहेको बताएका छन। ‘यत्रो मोटो रकम उपलब्ध भएर पनि बाटोको अवस्था जस्ताको त्यस्तै छ। बाटोको दूरावस्थाका कारण वाहनको चलाचल कष्टकर भएको छ। रोगीहरु बाटैमा मर्ने अवस्था छ। साधारण मानिस र विद्यार्थीहरुलाई खराब बाटोको कारण हुनसम्मको दुःख छ’ तिनले भने। तिनले यस मामिलाको अबिलम्ब जाँच हुनु पर्ने माग गरेका छन। 

‘हामीले जिल्लापाललाई पनि लेखेका छौं। यो कुराको जाँच होस। थाँतीमा रहेको बाटोको निर्माण कार्य चाढै होस’ सुन्दासले भने। अर्कोतिर, पीड्ब्ल्युडी विभागको स्थानीय कार्यालयका एसिस्टेण्ट इञ्जिनियर सुबोध छेत्रीले यी माकपा नेताको जम्मै आरोपहरुको खण्डन गरेका छन। तिनले नौ किलोमिटरको उक्त बाटोको निर्माणकार्य पूरा भइ नसकेको स्पष्टिकरण दिँदै निर्माणकार्य पूरा नभइ यस प्रकारको आरोप लगाउन नहुने प्रतिक्रिया व्यक्त गरेका छन। निर्माण सामग्रीको आपूर्ति नभएको कारण काम अघि बढाउन नसकेको तिनको भनाइ छ।

 ‘विभागले हामीलाई निर्माणसामग्री उपलब्ध गरायो भने हामी छिट्टै काम पूरा गरिदिनेछौं। तर समयमा सामग्रीहरुको आपूर्ति हुन नसक्दा काम रोकिएको छ’ एसिस्टेण्ट इञ्जिनियर सुबोध छेत्रीले भने, ‘अहिले उक्त सडकको निर्माण कार्य पूरा भएको छैन। यसको निर्माण कार्य पूरा भएपछि मात्र आर्थिक अनियमितताको आरोप लगाउनु तर्कसंगत हुनेछ’ आफूमाथि आक्रमण गर्ने धम्की दिएको तारा सुन्दासको आरोपलाई पनि तिनले खारेज गरेका छन। आफूले यस प्रकारको कुनै व्यवहार गरेको भए सुन्दासले कानूनी तवरमा आफूविरुद्ध कार्वाही गर्न सक्ने छेत्रीको टिप्पणी छ।

No comments: