Pages

Saturday 16 February 2013

तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको घोषणा आज कालेबुङबाट बिमल गुरुङले गर्ने

 कालेबुङ 16 फरवरी। गोर्खा जनमुक्ति मोर्चाले जीटीएको सत्ता त्यागेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्ने हो ? अहिले उक्त प्रश्न दार्जीलिङ पहाडमा जीटीएको अनिश्चित भविष्य जस्तै मडारिरहेको छ। बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको चौरास्तामा “दार्जीलिङ बङगालको अभिन्न अंग हो” भने पछि पहाडमा सल्किएको गोर्खाल्याण्डको आगोले भोलि कालेबुङको हुने गोजमुमो पार्टीको जनसभाबाट डडेलोको रुप लिने हो कि भन्ने जिज्ञासा गोर्खाल्याण्ड प्रेमी मानिसहरुको मनमा अडेको छ। 

यसै प्रश्नको जवाब खोज्ने क्रममा भोलि मेला ग्राउण्डमा हुने जनसभाबाट गोर्खाल्याण्डको निम्ति तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने आज गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङले कालेबुङ आईपुगे पछि गरे। दार्जीलिङबाट कालेबुङ पैदल हिडेर आएका मोर्चा समर्थकहरुसंग आज गोजमुमो अध्यक्ष बिमल गुरुङ टिस्टादेखि पैदल नै हिडेर आएका थिए। भोलि हुने जनसभामा सहभागीता जनाउँन पैदल हिडेर कालेबुङ आईपुगेका मोर्चा समर्थकहरुलाई बिमल गुरुङले छोटो समयको निम्ति सम्बोधन पनि गरे। 

तिनले मोर्चा समर्थकहरुलाई सम्बोधन गर्दै भोलिको जनसभाबाट तेस्रो चरणको आन्दोलनको घोषणा हुने बताए। “कालेबुङको जनसभाबाट तेस्रो चरणको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको घोषणा गरिनेछ। सम्पूर्ण जनता अब यो तेस्रो चरणको हुने गोर्खाल्याण्दको निम्ति आफ्नो ज्यान प्राण दिन समेत तयार भएर बस्नुपर्नेछ” बिमल गुरुङले पार्टी समर्थकहरुलाई सम्बोधन गर्दै भने। तिनले भोलि हुने जनसभामा लाखौ मानिसहरु भेला हुने भएको कारण बिभिन्न स्थानहरुमा वाहनहरुको धेरै अभाव रहेको बताउँदै जनसभामा दार्जीलिङ पहाडका मानिसहरु बोक्न सिक्किम राज्यबाट तीनहजार वाहनहरु ल्याएको गुरुङले सम्बोधनको क्रममा भने। 

तिनले यसचोटिको जनसभाबाट छुट्टै राज्य गोर्खाल्याण्डक गठनको निम्ति तेस्रो चरणको आन्दोलनको बिगुल फुक्ने स्पष्ट पार्दै यसपल्ट हुने आन्दोल निर्णायक हुने तिनले दाबी गरे। उक्त निर्णायक आन्दोलनमा सबै मानिसहरुको सहभागिता आवश्यक रहेको बताउँदै यसको निम्ति तयारी बस्ने तिनले आह्वान पनि गरे। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति यसपल्ट गरिने भएको निर्णायक आन्दोलनमा जीटीएको अस्तित्व के हुने भन्ने बिषयमा भने तिनले केही बताएनन।

 यद्यपी जीटीएलाई त्यागेर नै गोर्खाल्याण्ड पाउँन सकिनेछ भन्ने कुरालाई मध्यनजर राख्दै तिनले जीटीए खारेजको घोषणा भोलिको जनसभाबाट गर्ने हो कि भन्ने सम्भावना बडेको छ। यता छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै दार्जीलिङबाट भोलिको जनसभामा सरिक बन्न आईपुगेका गोजमुमो समर्थकहरुले कालेबुङ आईपुगेपछि जोडदार नाराबाजी लगाए।

 “बङगालमा हामी बस्दैनौ, गोर्खाल्याण्ड हामीलाई चाहिन्छ जस्ता नाराहरुले आज कालेबुङको शहर गुञ्जियो। यता भोलि हुने जनसभालाई केन्द्र गरेर गोजमुमो पार्टीले कालेबुङ शहरमा पार्टीको झण्डा जोडतोडले लगाएको छ। अर्कोतिर आजदेखि नै जनमुक्ति अस्थायी कर्मचारी संगठनले पनि छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै एक लाख पोष्टरिङ गर्ने अभियान सुरु गरेको छ। जअकसंले आजदेखि शुरु गरेको उक्त पोष्टरिङ अभियान अन्तर्गत यहाँको थाना डाँडा, डम्बर चौक, नोभेल्टि परिसर आदि स्थानहरुमा टाँस्ने कार्य भएको छ।

No comments: