Pages

Thursday, 6 December 2012

जीना प्रधान हत्याकाण्डको एक वर्ष पुरा हुँदा पनि हत्या पक्रा परेको छैन

     हत्याराहरु पक्रा नपर्नुले पुलिसको कार्य क्षमता माथि प्रश्न उठेको छ – डा हर्कबहादुर छेत्री

 डी के वाइबा, कालेबुङ 5 नोभेम्बर। दार्जीलिङ पहाडमा चर्चित हत्याकाण्डहरु मध्ये कालेबुङ महकुमाको पेदेङमा भएको जीना प्रधान हत्याकाण्डको वर्षदिन बितेर जाँदा पनि पुलिसले कुनै सफलता हात पार्न सकेको छैन। जसको कारण पुलिस प्रशासनको कार्यप्रणाली प्रति मानिसहरुले औला उठाउँनुको साथै प्रशासन माथि भरोसा समेत गुमाउँदै गईरहेको छ। 15 नोभेम्बर 2011 को साँझ 4:30 बजे 22 वर्षिय जीना प्रधानको घरदेखि केवल एकसय मिटरको दुरीमा निर्मम हत्या भएको थियो। हत्या कसले अनि कुन अभिष्टले गरेको भन्ने सुईँको समेत पाउँन नसकेको पुलिस प्रशासनले हत्याकाण्डको वर्ष दिन बितेर जाँदा पनि जाँच अघि बडीरहेको बताईरहेको छ।

 भूमीसुधार बिभागमा आफ्नो पिताको निधन पछि तिनले काम पाउँने भएको थियो अनि उक्त कार्यको निम्ति अन्तरवार्ता समेत दिईसकेको जीना प्रधानको नियुक्ति हुन केवल चार दिन मात्र बाँकी रहेको थियो। सरकारी बिभागमा नियुक्ति हुन केवल चार दिन भएको उक्त हत्याकाण्डमा अझसम्म कुनै दोषी पक्रा नपरे पनि हत्याराले हत्या कुन अभिष्टको निम्ति गरेको थियो भन्ने गम्भिर प्रश्न अझसम्म कालोबादल झै मडाडीरहेको छ।

 तिनको जुन स्थानमा हत्या भएको थियो त्यस स्थानमा ईस्कूश, दूधको बट्टा अनि मोबाईल फोन फेला परेको थियो अनि त्यसको ठिक दश फुट पर खोल्सामा तिनको अर्धनग्न शव गाउँलेहरुले फेला पारेको थियो। उक्त घटनाकाण्ड पछि बिरोधको स्वर अलापदै गाउँलेहरु अनि बिभिन्न गैर सरकारी संगठनहरुले आवाज उठायो तर अहिले वर्षदिन बितिसक्दा बिरोधको आवाज उकाल्ने समाजिक संगठनहरु पनि मौनता अप्नाएर बसेको छ। 

उक्त हत्याकाण्ड बिषयमा जाँच गर्ने पुलिस प्रशासनले अझसम्म कुनै सुईँको समेत पत्तो लगाउँन नसकेको कारण पुलिस प्रशासनको कार्य क्षमता माथिनै शंकाको बादल छाएको छ। यस्तो अवस्थामा पनि परिवार पक्ष भने अझसम्म न्याय पाउँने आशामा बाँचीरहेका छन। पहाडमा भएको हत्याकाण्डहरु मध्ये चर्चित बनेको उक्त हत्याकाण्ड यतिसम्म चर्चित बनेको थियो कि यस बारे राज्यको मुख्य सचिव अनि गृहमन्त्रालयसम्म आवज उठेको थियो।

 कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीले जीना प्रधान हत्याकाण्डको दोषीहरुलाई पक्राउ गरेर पिडीत परिवारपक्षलाई न्याय दिलाउँने प्रतिश्रुती दिदै उक्त बिषयमा राज्यको गृहमंत्री अनि मुख्य सचिवलाई घटनाबारे अवगत गराएका थिए। तर गृहमन्त्रालयमा पुलिस प्रशासनलाई घटनाको छनाबीन गरेर दोषी पक्राउ गर्नु भनि निर्देश आउँदा समेत पुलिस प्रशासनले सुईँको समेत लगाउँन सकेको छैन। यस बिषयमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीसंग कुराकानी गर्दा तिनले पुलिस प्रशासनको कार्य क्षमता माथि प्रश्न उठाएका छन।

 “देशमा भएको ठूलो ठूलो अपराधको घटनाहरुमा पुलिसले सक्रियता अप्नाएर दोषीलाई पक्राउ गर्न सकेको छ भने यहाँ दिनदहाडे भएको हत्याकाण्डको पुलिसले पत्तो लगाउँन नसक्नुले पुलिसको ठूलो कमजोडी देखिएको छ” डा छेत्रीले भने। यसै सिलसिलामा तिनले उक्त घटनाबारे राज्यको गृहसचिवलाई बताएर दोषीहरु पक्राउको निम्ति माग गर्दा गृहसचिवले तत्काल पुलिस अधिकारीवर्गलाई निर्देश दिएको कारण कतिपय पुलिस अधिकारीवर्ग आफुसंग असन्तुष्ट बनेको समेत खुलासा गरेका छन।

 डा छेत्रीली समाजमा पुलिसले कुनै पनि अपराधीहरुलाई पक्राउ गरेर सजाय दिए साधारण जनताको विश्वास कायम रहने बताउँदै उक्त घटनाकाण्डको अपराधी पक्रा नपर्नुले पुलिस प्रशासन प्रतिको विश्वास समेत हराईरहेको बताएका छन। तिनले समाजमा घट्ने अपराधका घटनाहरु निर्मुल पार्न कानूनको रखवाल गर्नेहरु सडकमा निस्कनुपर्ने बताउँदै जबसम्म सचेत नागरीकहरु अघि आउँदैनन तबसम्म यस्ता अपराधका घटनाहरु निर्मूल पार्न कठिन हुने समेत बताए।

 अर्कोतिर स्व जीना प्रधानकी आमा अन्नामारिया प्रधानले हत्याकाण्डको वर्षदिनसम्म बित्दा समेत न्याय नपाउँनु दुखको कुरा रहेको बताउँदै पुलिस प्रशासनले जाँच गरेर न्याय दिनुपर्ने माग गरेकी छिन। घटनाको जाँच गर्ने पुलिस प्रशासनले आफुहरुलाई जाँच कार्य जारी रहेको बताईरहेपनि हत्याराहरु पक्राउ नपर्नुले दुखीरहेको बताईन। तिनले हत्यारा पक्राउ गरेर कठोर सजाय दिनुपर्ने माग गर्दै आफुले आफ्नो छोरी गुमाए पनि यदि हत्याहरुलाई कठोर सजाय दिए यस्तो अपराधको घटनाहरु गर्न अघि अपराधीहरुले सोच्ने बताईन। यता यस घटना बिषयमा पुलिस अधिकारीवर्गलाई सोद्धा भने जाँच कार्य अघि बडीरहेको जनाएका छन।

No comments: