Pages

Friday 27 July 2012

कालेबुङमा सबै राजनैतिक दलहरुले पालन गर्‍यो शहिद दिवस



डी के वाइबा,  कालेबुङ 27 जुलाई : अस्सिको दशकमा गोरामुमो अध्यक्ष सुवास घिसिङले चलाएको छुट्टै राज्य गोर्खाल्याण्डको हिंसात्मक आन्दोलनमा शहिद बनेकाहरुलाई आज पहाडका सबै राजनैतिक पार्टीहरुले सम्झना गर्दै शहिदहरु प्रति श्रद्धाञ्जली चडाए। पहाडको बर्तमान शक्तिशाली राजनैतिक दल गोजमुमो पार्टीले पनि यहाँको एघार माईल स्थित शहिद बेदीमा शहिद दिवस पालन गर्‍यो। यस अवसरमा शहिदका परिवारहरु पनि बिशेषरुपले उपस्थित रहेका थिए।
गोजमुमो पार्टीले शहिद दिवस पालन गर्दै शहिद बेदीमा सबै नेताहरु संगै शहिद परिवारका सदस्यहरुले बेदीमा माल्यार्पण गरेर श्रद्धा चडाए। गोजमुमो पार्टीले तयार पारेको जीएलपीका जवानहरुले बेदी स्थलमा शोक धुन प्रस्तुत गर्दै गार्ड अफ अनरको साथमा शहिदहरुलाई सम्झना गरे। गोर्खा जनमक्ति मोर्चा कालेबुङ महकुमा समितिका अध्यक्ष सरीता राईले सम्बोधन गर्दै शहिदहरुको सपना छुट्टै राज्य गोर्खाल्याण्ड भए पनि सुवास घिसिङले 12 सय शहिद बनाएर पनि गोर्खाल्याण्ड भने ल्याउँन नसकेको दाबी गरे। तिनले गोजमुमो पार्टीले गोर्खाल्याण्डको आन्दोलनलाई नत्यागेको दाबी गर्दै जीटीए गठन पछि पनि मोर्चाले गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँने दाबी गरे। तिनले बिगत 27 जुलाई 1986 को स्मरण गर्दै अहिले गोजमुमो पार्टीले भने जनतालाई सुवास घिसिङले जस्तो धोका दिने कार्य नगरेको बताउँदै गोजमुमोले शहिदको सपना गोर्खाल्याण्ड ल्याएरै छोड्ने दाबी गरे। यस अवसरमा अन्य वक्ताहरुले पनि शहिदहरुको सम्झना गर्दै गोर्खाल्याण्ड केवल गोजमुमो पार्टीले मात्र ल्याउँने दाबी गरे।
आज सम्पन्न उक्त शहिद दिवस कार्यक्रममा मोर्चाको केन्द्रिय समिति सद्स्य बिजय सुन्दास, नोर्देन लामा, प्रविण रहपाल लगायत मोर्चाका निर्बिरोध बिजयी बनेका जीटीए सभा सदस्यहरुले पनि शहिद बेदीमा माल्यार्पण गरेर श्रद्धाञ्जली प्रकट गरे।
अर्कोतिर यता क्रामाकपाले पनि शहिद दिवस यहाँको पार्टी कार्यालयमा पालन गर्दै शहिदहरुको स्मरण गर्‍यो। पार्टी कार्यालयमा शहिद दिवस पालन गर्न अघि क्रामाकपा नेताहरुले पनि एघार माईलमा अवस्थित शहिद बेदीमा माल्यार्पण गरेर शहिदहरुलाई श्रद्धाञ्जली प्रकट गरे। क्रमाकपाले शहिद दिवस पालन गर्नुको साथै यहाँको डम्बर चौकमा जीटीएले शहिदहरुको सपना पुरा गर्न नसक्ने दाबी गर्दै पोष्टरिङ समेत गरेको छ। क्रामाकपाले गोर्खाल्याण्ड आन्दोलनमा शहिदहुनेहरुलाई सहुलियत होईन दोसीहरुलाई सजाय दिनुपर्ने पनि माग गरेको छ। यसको साथै सहिदहरुलाई साँचोरुपले सम्मान गर्नु हो भने सम्पूर्ण लालचहरु त्यागेर गोर्खाल्याण्डको निम्ति अघि बडनुपर्छ भनेर क्रामाकपाले पोष्टरमा उल्लेख गरेको छ।
यता गोर्खाल्याण्ड टास्क फोर्सले पनि यहाँको भागोप कार्यालयमा शहिद दिवस पालन गर्दै शहिदहरु माथि सीआएपीले गोली चलाएको सन्दर्भमा जाँच गर्नुपर्ने माग गर्दै दोषिहरुको पक्राऊ गरेर परिवार पक्षलाई न्याय दिनुपर्ने माग गरेको छ। यस सम्बन्धमा टास्क फोर्सका अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधानले शहिदहरुको सपना केवल गोर्खाल्याण्ड रहेको बताउँदै यहाँ नेताहरु सहुलियत अनि पैसाको पछि कुदेर गोर्खाल्याण्डको मुद्दा त्याग्ने कार्य भएको आरोप लगाए। तिनले शहिदहरुलाई सम्मान गर्दै सबै जनता लगायत नेताहरु केवल गोर्खाल्याण्डको निम्ति अघि आउँनुपर्ने आह्वान गर्दै नेताहरु सहुलियतको पछि कुद्ने कार्य छोड्नुपर्ने आह्वान गरे।

No comments: