डी के वाइबा, कालेबुङ 8 जुलाई: गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पार्टीलाई जीटीए चुनाउमा आफ्नै ठाउँमा मात दिन आफ्ना पार्टी समर्थकहरुको प्रचारमा राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जी दार्जीलिङ पहाड चड्ने हुन? भन्ने प्रश्न अहिले चारैतिर बर्षायामको मौसम भए पनि डडेलो जस्तै सल्किरहेको छ। आगामी 13 जुलाईको दिन कालेबुङमा पालन गरिने भानु जयन्ति कार्यक्रममा भाग लिने बहाना बनाएर तिनी पहाडमा चुनाउ प्रचारको निम्ति आउँने हल्ला फैलिएपछि सबैतिर अहिले ‘ममता ब्यानर्जी’ आए जीटीए चुनाउमा कस्तो फरक पर्ला भनि चर्चा गरिरहेका छन। तिनी आउँने योजनाको खासै कुनै पुष्टि नभएपनि जीटीए चुनाउमा तृणमुल कङ्ग्रेस पार्टीबाट चुनावी मैदानमा ओर्लिने प्रार्थीहरुले दिदीलाई पहाडमा चुनाउ अघि आईदिने बाराम्बार अनुरोध गरिरहेको कारण भानु जयन्तिको बहानामा तिनी पहाड चडन सक्ने प्रबल सम्भावना रहेको बिशेष सुत्रले बताएको छ।
जीटीए चुनाउलाई लिएर एकातिर गोजमुमो पार्टी निश्चित रुपले बिजयी बन्ने होडमा कुदिरहेको छ अर्कोतिर गोजमुमो पार्टीलाई लगाम लगाउँन तृणमुल कङग्रेस घुँडा धसेर मैदानमा उत्रिएको छ। पहाडमा गणतन्त्र नभएको कारण पुन: गणतन्त्र फर्काएर ल्याउँनुपर्छ भन्ने नारालाई अघि सारेर तृणमुल कङग्रेस चुनावी मैदानमा ओर्लिएको छ। यस्तो परिस्थितिमा अहिले सम्मको दृष्यहरुलाई अवलोकन गर्दा गोजमुमो पार्टीलाई टक्कर दिन सबैभन्दा सक्रिय रुपले तृणमुल कङ्ग्रेस अघि आएको छ। शनिबार नामाङकन पत्र भर्ने छैटौ दिन तृणमुल कङग्रेसका प्रार्थीहरु यहाँको चुनाव कार्यालयमा आईपुगेको भएता पनि बिभागले निर्धारित गरेको समयमा उपस्थित हुन नसक्दा केवल एकजना प्रार्थी प्रेमबहादुर अधिकारीले मात्र 43 नम्बर समष्टिबाट नामङकन पत्र दर्ता गर्न सक्षम भए। तिनी बिभागले निर्धारीत गरेको समय अघिनै कार्यालयमा आएको हुँदा नामङकन पत्र दर्ता गर्न पाए तर् अन्य प्रार्थीहरुले भने सोमबार अन्तिम दिन नामाङकन पत्र बुझाउँने तृणमुल नेता छेवाङ भोटियाले जानकारी दिएका छन।
तृणमुल कङ्ग्रेसले कालेबुङबाट मोठ 13 वटा समष्टिहरुमा नै आफ्नो प्रार्थी उठाएर चुनाउमा भाग लिने बारम्बार दाबी गर्दै आईरहेको छ भने मोठ 13 वटानै सिटहरुको निम्ति नामाङकन पत्र समेत निकाली सकेको छ। यदि सोमबार साँच्चै तृणमुलले कालेबुङबाट 13 वटा सिटहरुमानै नामङकन पत्र दर्ता गरेर चुनावी मैदान निस्किए मोर्चासंग जोडदार टक्कर हुने अनुमान गरिएको छ। यस्तो परिस्थितिमा आगामी 13 जुलाईको दिन आदिकवि भानुभक्तको जन्म जयन्तिलाई बहाना बनाएर राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जी कालेबुङ आउँने हल्ला चलिरहेको छ। यस सम्बन्धमा कुनै आधिकारीक खबर नआएको भएता पनि तिनी आउँने सम्भावना भने प्रबल रहेको एक विशेष् सुत्रबाट थाहा लागेको छ। भानु जयन्तिको बहानामा तिनी कालेबुङ आए पक्कै पनि आफ्ना पार्टी कार्यकर्ताहरुलाई मोर्चालाई टक्कर दिन उत्साह दिने सम्भावना रहेको छ भने पहाडमा तृणमुल कङ्ग्रेस पार्टीलाई चुनाउ प्रचार गर्न कठिन परिरहेको कुरालाई ध्यानमा राखेर नै कार्यकर्ताहरुले तिनलाई उत्तर बङालको भ्रमण अवधी कालेबुङ समेत आईदिने अनुरोध गरेका हुन भन्ने थाहा लागेको छ।
यदि ममता ब्यानर्जीले कालेबुङको दौडाहा गरेर आफ्ना प्रार्थीहरुको निम्ति जनतालाई भोट हालिदिने अपिल गरे मोर्चालाई ब्यापक नोक्सान पर्न सक्ने सम्भावना समेत रहेको छ। किनभने मोर्चा प्रमुख बिमल गुरुङले चुनाउको निम्ति प्रार्थीहरुको चयन गर्दा स्थानिय पार्टी कार्यकर्ताहरुलाई पत्तो नदि अन्य स्थानहरुबाट प्रार्थीहरु ल्याई खडा गरेको कारण पार्टी कार्यकर्ताहरु रुष्ट बनेका छन। यदि ममता ब्यानर्जीले आएर आफ्ना प्रार्थीहरुको निम्ति भोटको अपिल गरे मोर्चाबाट् रुष्ट बनेकाहरुले तृणमुल कङग्रेसलाई नै भोट हालिदिन सक्ने सम्भावना समेत बडी रहेको छ। हाल कतिपय स्थानहरुमा पार्टीले टिकट् नदिएपछि पार्टीका समर्थक र केही नेताहरु निर्द्लीय उम्मेद्वार खडा गर्ने समेत सोचिरहेका छन भने यहाँको ४१ नम्बर गितडाब्लिङ समष्टिबाट सञ्चबीर सुब्बाले पार्टीको निर्देशलाई समेत उल्लंघन गरेर निर्दलीय प्रार्थीको रुपमा नामाङकन पत्र दर्ता गरिसकेका छन।
एकातिर 41 नम्बर समष्टिबाट मोर्चाले पार्टी उपाध्यक्ष कल्याण देवानलाई खडा गरेको छ भने सोहि स्थानबाट निर्दलीय प्रार्थी सञ्चबिर सुब्बा मैदानमा उत्रेका छन भने अर्कोतिर सोहि स्थानबाट तृणमुल कङ्ग्रेसले स्थानीय व्यक्ति पिटर माईकल लिङदामोलाई खडा गर्ने निर्णय लिएको छ। तिनले भोलि आफ्नो नामाङकन पत्र दर्ता गर्ने भएको छ। तृणमुल कङ्ग्रेसको पिटर माईकल लिङदामो खडा भए उक्त समष्टिमा त्रिकोणिय प्रतिद्वन्द्विता हुने छ। जसको नोक्सान गोजमुमो पार्टीलाई स्पष्टरुपले हुने देखिएको छ। यस्तो परिस्थितिहरु बीच जीटीए चुनाउमा प्रतिद्वन्द्विता गर्न निस्केकाहरु भने साँच्चै नामाङकन पत्र फिर्ता नलिई चुनावी प्रतिद्वन्द्वितामा हुने हो होईन भन्ने कुरा भने नामाङकन पत्र फिर्ता लिने अन्तिम दिन 12 जुलाईकै दिन निश्चित हुने भएको छ।
No comments:
Post a Comment