डी के वाइबा, कालेबुङ, 22 जुलाई। जीटीए चुनाउमा 28 वटा सिटहरुमा निर्विरोध बिजयी बनिसकेको गोजमुमो पार्टीले रहल 17 वटा सिटहरुमा पनि आफ्नो आधिपत्य जमाउँन कुनै कसरत बाँकी राखेको छैन। बिशेष कालेबुङ महकुमा क्षेत्रको 9 वटा सिटहरुमा मोर्चाले चुनाउमा प्रतिद्वन्दिता संग भिडनु परेको कारण मोर्चा प्रमुख बिमल गुरुङ आफैले चयन गरेका प्रार्थीहरुलाई बिजयी बनाउँन तिनी मैदानमा उत्रेका छन।
तिनी केहिदिनदेखि कालेबुङ महकुमाको बिभिन्न समष्टिहरुमा चुनाउ प्रचार कार्यलाई लिएर व्यस्त रहेका छन। यसै क्रममा आज यहाँको अलगडामा गोजमुमो प्रमुख बिमल गुरुङले चुनावी जनसभालाई सम्बोधन गरे। उक्त जनसभा 37 नम्बर अलगडा-दलपचन्द, 38 नम्बर लाभा-लिङ्ग्से अनि 40 नम्बर पेदोङ समष्टिलाई लिएर अलगडा जनमैदानमा सम्पन्न भएको थियो। चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा मोर्चा प्रमुख बिमल गुरुङले तृणमूल कङ्ग्रेसबाट मोर्चालाई चुनावमा टक्कर दिन मैदानमा उत्रेका प्रार्थीहरुलाई व्यङ्ग गर्दै " मैले चुनावी मैदानमा उत्रेका तृणमूल प्रार्थीहरुलाई केहि भनिन तर यसको माऊलाई भनेर चुनाउबाट फिर्ता लिएपछि अब तृणमूलमा जानेहरुले के गर्ने" भनि प्रश्न गरे। तिनले तृणमूलका प्रार्थीहरुलाई राजनीति गर्न जान्नुपर्छ भन्दै ममता ब्यानर्जीले चुनाउ नलड्ने घोषणा गरेपछि अब उनीहरू घरको न घाटको सरह बनेको दाबी गरे। ममता ब्यानर्जीले जीटीए चुनाउमा आफ्नो पार्टीले नलड्ने घोषणा गरिसकेपछि मोर्चा 45 वटा आसनहरुमानै बिजयी बनिसकेको दाबी गर्दै जीटीए सम्झौता देखि नै मोर्चा अनि तृणमूलको सम्बन्ध राम्रो रहेको अनि यस सम्बन्धलाई बँचाएर राख्ने पनि गुरुङले बताएका छन।
यसै क्रममा तिनले तृणमूललाई आवश्यक परेको समयमा मोर्चाले सघाएको छ भन्दै भविष्यमा पनि सघाउनेछ भनि घोषणा गरे। मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए चुनाउको मैदान छोडने घोषणा गरिसके पनि यता तृणमूलका प्रार्थीहरुले भने यस घोषणालाई नमाने ममता ब्यानर्जीले नै यसबारे प्रेस बिज्ञप्ति जारी गर्ने गुरुङले बताएका छन। तिनले जीटीएलाई भ्रष्टचारमुक्त बनाउँने घोषणा गर्दै दागोपापमा जस्तो जीटीएमा 70 प्रतिशत गोजिको बिकाश गरेर 30 प्रतिशत काम गर्नेहरुलाई आफु स्वयले लगाम लगाएर राख्ने पनि तिनले बताए। तिनले जीटीएमा बङगालको हस्तक्षेप हुनु हुँदैन भन्दै जीटीएको जति क्षमता छ त्यसलाई कोलकोताले होईन दार्जीलिङबाट नै सञ्चालन गरिने पनि बिमल गुरुर्ङले घोषणा गरेका छन।
यस अवसरमा तिनले तृणमूल कङ्ग्रेसबाट चुनावी मैदानमा उत्रेका प्रार्थीहरुलाई सुझाउ दिँदै भने, एकसमय लाखौं जनताको विश्वास भएका गोरामुमो नेताहरू छिरिङ शेर्पा, केएन सुब्बा, दावा पाख्रिन आदिको अवस्था आज के छ उम्मेदवारहरूले बुझ्नुपर्छ भने। जनप्रतिनिधि भएर मोर्चा उम्मेदवारहरूले पनि जनताको हितमा सही ढङ्गमा काम नगरे उनीहरूको पनि अवस्था यस्तै हुनेछ भन्दै यता मोर्चाका प्रार्थीहरुलाई पनि तिनले जनताको पक्षमा राम्रो काम गर्नुपर्छ भनि अप्रत्यक्ष संकेत दिए। आजको जनसभामा तिनले जीटीए व्यवस्थालाई बारम्बार 44 महिने आन्दोलनको उपलब्धि हो भन्दै आन्दोलनकालका 5 शहीदहरुलाई स्मरण गर्दै जीटीए व्यवस्थालाई सही ढङ्गमा सञ्चालन गरेर पहाडका विपक्षीहरू अनि सरकारलाई देखाएरै छोड्ने बताए।
जीटीएमा गोर्खाल्याण्ड शब्द जोडिएकोमा तिनले ठूलो उपलब्धीको रहेको बताउँदै सुवास घिसिङले 12 सय शहिद बनाएर पनि गोर्खाल्याण्ड लेख्न नसकेको दाबी गर्दै यो मोर्चाको ठूलो जीत हो भने। यस अवसरमा उक्त चुनावी जनसभालाई 37 नम्बर समष्टिका मोर्चा उम्मेदवार कल्पना तामाङ, 38 नमबरका सीपी शर्मा अनि 40 नम्बर समष्टिका दावा लेप्चाले पनि सम्बोधन गर्दै जनहितमा इमान्दारीपूर्वक कार्य गर्ने वचन बद्धता जाहेर गरे। महकुमा समिति अध्यक्ष सरिता राईको अध्यक्षतामा सम्पन्न जनसभालई मोर्चा केन्द्रिय उपाध्यक्ष प्रदिप प्रधान, फ्रान्सिस देवान, रतन थापा, देशभक्त सुब्बा आदिले सम्बोधन गरे।
No comments:
Post a Comment