Pages

Tuesday 29 May 2012

पहाड़का तीनवटा विद्यालयले फेरि पायो उच्चत्तर माध्यमिकको दर्जा



 May 29th, 2012 राज्यमा ममता व्यानर्जीको सरकार आएपछि पहाड़को समस्याप्रति पनि ध्यान केन्द्रित गर्ने काम भइरहेको देखिएको छ। पहाड़को शिक्षा व्यवस्थामा सुधार ल्याउन पनि सरकारले प्रयास गरिरहेको छ। जनमुक्ति सेकेण्डरी टिचर्स अर्गनाइजेशन (जेएसटीओ)-को प्रयासको प्रतिफल नै पहाड़का धेरैवटा स्कूलहरूले माध्यमिक र उच्च माध्यमिकको दर्जा पाइरहेका छन्। विद्यार्थीहरूले आफ्नो घरको खाना खाएर नै शिक्षा हासिल गर्न सकुन् एवं भर्नाको समस्यामा नपरून् भन्ने उद्देश्य लिएर नै यसरी पहल गरेको जेएसटीओ केन्द्रिय पदाधिकारीहरूले जनाएका छन्। आज पश्चिम बंगाल सरकार उच्च शिक्षा विभागद्वारा दार्जीलिङ पहाड़का तीनवटा माध्यमिक विद्यालयलाई उच्चत्तर माध्यमिकको मान्यता दिएको कलकत्ताबाट इएमसीका संयोजक छिरिङ तामाङले जानकारी दिए। आज उच्चत्तर माध्यमिकको दर्जा पाएका विद्यालयहरूमा बेटेन उच्च विद्यालय तकभर, धजिया उच्च विद्यालय धजिया र होलीक्रस कन्या उच्च विद्यालय सोनादा रहेका छन्। आज तीनवटा विद्यालयले यसरी उच्चत्तर माध्यमिकको निम्ति विभागद्वारा प्रोभिजनल मान्यता पाएको संयोजक छिरिङ तामाङले बताए। अब पश्चिम बंगाल उच्चत्तर शिक्षा पर्षदबाट मान्यताको संख्या प्राप्त हुने जनाउँदै यसको निम्ति स्कूलले पनि पत्राचार गर्नुपर्ने बताए। संगठनले नै पहल गरेर यो पनि दिलाउने उनले जनाउँदै यसरी मान्यता पाएका तीनैवटा विद्यालयहरूमा3-3 जना गरेर अतिरिक्त पद पनि स्वीकृत भएको जनाए। यसको निम्ति कुन कुन विषयमा शिक्षक लगाउने त्यो स्कूलले नै निर्णय गरेर काउन्सिललाई जनाउनुपर्ने बताए। हालसम्म 27 वटा विद्यालयले उच्चदेखि उच्चत्तर माध्यमिकको दर्जा प्राप्त गरिसकेको उनले जनाउँदै भोलि माध्यमिक परीक्षाको फलाफल घोषणासितै यी तीनैवटा विद्यालयले पनि एघारौं श्रेणीमा भर्ना लिनसक्ने बताए। पहाड़को शिक्षा व्यवस्थालाई सुदॄढ़ बनाउन यसरी जेएसटीओ लागिपरेको बताउँदै हाल आफूहरू कलकत्तामा रहेको महासचिव विजय प्रधान अनि संयोजक छिरिङ तामाङले बताए। सरकारसितको बारम्बार बैठक तथा शिक्षा विभागमा जेएसटीओले गरेको पत्राचार र कुराकानीको फलस्वरूप नै यसरी शिक्षामा सुधार ल्याउने कार्य भएको उनीहरूले जनाए। पहाड़मा रहेका शिक्षा सम्बन्धि विभिन्न समस्याहरूको समाधान गर्न कलकत्तामा पहल भइरहेको तामाङ अनि प्रधानले आज टेलिफोन मार्फत् जानकारी दिए। rongotimes.com.....

No comments: