डी के वाइबा, कालेबुङ 27 जुलाई।
“हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए” – कवि भूपि शेरचेनले लेखेको उक्त पंक्ति छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको सन्दर्भमा कहिल्यै सार्थक भएन। बीर सपुतहरु गोर्खाल्याण्डको निम्ति शहीद भए तर भएन छुट्टै राज्य। बनेन गोर्खाहरुको आफ्नै मुलुक। यहीँ परिस्थितिहरुको माखेसाङलोमा अहिले पनि शहीदहरुको साहदतलाई सम्झरे प्रत्येक वर्ष 27 जुलाईको दिन शहीद दिवस पालन गरिन्छ तर गोर्खाल्याण्ड गठनको प्रश्न भने प्रश्नहरुकै भुँवरीमा अल्झेको छ।
अस्सिको दशकमा सुवास घिसिङले चलाएको हिंसात्मक आन्दोलन अनि 2007 सालमा बिमल गुरुङले शुरु गरेको अहिंसात्मक आन्दोलनमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति शहिद भएकाहरुलाई आज गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पक्षबाट श्रदाञ्जलि अर्पण गरियो। यहाँको 11 माईल स्थित रहेको शहिद पार्कमा आयोजित शहिद दिवस कार्यक्रममा मोर्चा अध्यक्ष एंव जीटीए प्रमुख बिमल गुरुङ बिशेष रुपले उपस्थित रहेका थिए। शहिदहरुलाई श्रधाञ्जली अर्पण गर्ने स्थलमा आज मोर्चा कार्यकर्ताहरुले जोडदार छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा नाराबाजी पनि लगाए। यस अवसरमा जीटीएको पक्षबाट बिमल गुरुङले शहिदहरु प्रति श्रदाञ्जलि अर्पण गर्दै शहिदका परिवारहरुलाई सम्मान पनि जनाए।
प्रत्येक वर्ष पालन गरिने शहिद दिवस यसवर्ष बिगत बर्षहरुको भन्दा बेग्लै प्रकारको रहेको थियो। केन्द्रमा तेलेंगना गठनको मुद्दाले चर्चा चुलिएको अवस्थामा मोर्चा प्रमुख बिमल गुरुङले शहिदहरु प्रति श्रद्धा प्रकट गर्दै छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको निम्ति जीटीए त्याग्ने छाँट दिएका छन। तिनले जीटीएको चौकिमा बसेर छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्त गर्न नसक्ने बुझेपछि आज सहिदहरुलाई स्मरण गर्दै अब गोर्खाल्याण्डको निम्ति आन्दोलन होईन क्रान्ति नै गर्नुपर्ने आह्वान गरे। यस अवसरमा तिनले छुट्टै राज्य गोर्खाल्याण्ड चाहने पहाडका अन्य राजनैतिक पार्टीहरुलाई पनि सहयोगको अपिल गरेका छन। तिनले आफ्नो सम्बोधनको क्रममा तेलेंगना गठनको प्रक्रियाले आफुलाई धेरै चिन्ता बडेको बताउँदै आगमी दिनहरुमा बिगतका भन्दा बेग्लै आन्दोलन हुने अनि यस आन्दोलनमा जीटीएका सभासदहहरु लगायत नगरपालिकाका पार्षदहरु सहिद बन्न सक्ने सम्भावाना समेत प्रकट गरेका छन। तिनले जीटीए त्याग्ने दिन आएको बताउँदै आन्दोलनकालमा सहिद भएकाहरुले समाधी स्थलबाट “गोर्खाल्याण्ड” भन्दै चिच्चाएको बताउँदै आफ्नो प्राण अर्पण गर्न पछि नपर्ने घोषणा मोर्चा अध्यक्ष बिमल गुरुङले गरेका छन। अर्कोतिर आज यहाँको साबित्रि पथमा अवस्थित सहिद साबित्रि घिसिङको सहैद वेदीमा परि परिवार पक्षवाट सहिद दिवस पालन गरियो। यस अवसरमा मानिसहरुले शहिदप्रति श्रद्धाञ्जलि प्रकट गरे। केन्द्रमा छुट्टै तेलेंगना गठनको चर्चा अन्तिम चरणमा पुगेको अवस्थामा आयोजित शहिद दिवमा सबैले एकचोटी पुन गोर्खाल्याण्ड गठनको निम्ति निर्णायक आन्दोलनको निम्ति कसम खानुपर्ने बिमल गुरुङले बताउँदै अबको आन्दोलनमा 12 सय भन्दा धेर शहिद हुन सक्ने संकेत दिएका छन।
“अब जीटीए फ्याँक्ने दिन आयो। आज शहिद दिवसको दिन यो शहिद बेदी अघिबाट भनिरहेको छु। आज शहिदहरुले आफ्नो आफ्नो समाधीबाट वुई वान्ट गोर्खाल्याण्ड भन्दै चिच्चाईरहेका छन। हामीले शहिदको सपना खेरो फाल्नु हुँदैन। भोलिको दिन यो शहिद बेदीमा बिमल गुरुङलाई पनि तपाईँहरुले सम्झनुपर्ने दिन आउँन सक्छ। अब गोर्खाल्याण्डको निम्ति आफ्नो शरिरमा रगत भईञ्जेल लड्ने समय आयो यसको निम्ति सबै तयार बस्नुहोस” मोर्चा अध्यक्ष बिमल गुरुङले भने। सहिदहरुलाई सम्झने क्रममा आज बिमल गुरुङ निकै भावुक बनेको देखियो भने तिनले जीटीए त्याग्ने पक्षमा नै बिशेष जोड दिएका छन। “अब हामीले क्रान्ति गर्नुपर्छ। सबै बिपक्षी पार्टीहरुले पनि यस आन्दोलनलाई सहयोग गर्ने म दुईहात जोडेर बिन्ति गर्छु। तपाईँहरुले बाहिर बसेर भए पनि सहयोग गर्नुहोस। यदि सह्योग गरेन भने टिप्पणी पनि नगर्नुहोस” तिनले बिपक्षी पार्टीहरुलाई अह्वान गर्दै भने।
No comments:
Post a Comment